नीति कार्यक्रम र बजेटबारे सुझाव संकलन

333
  •  
  •  
  •  

रुपन्देही । बुटवल उपमहानगरपालिकाले आगामी आवको नीति कार्यक्रम र बजेट बारेमा सुझाव संकलन गरेको छ ।

बुटवलका विभिन्न विषयका विज्ञहरु, अगुवाहरु, व्यवसायी तथा उद्यमीहरु, राजनीतिक दलका नेताहरुको उपस्थितिमा आगामी आव २०७६/०७७ को प्रि बजेट छलफल गरिएको हो । बुटवल उपमहानगरपालिकाले यही असार १० गते आगामी आव २०७६/०७७ को बजेट ल्याउँदै छ ।

छलफलमा सहभागीहरुले बुटवलले एकीकृत सहरी विकास योजनाामार्फत आवधिक र दीर्घकालिन महत्वका योजनाहरु ल्याएको बताएका छन् ।

बुटवलका १९ वटै वडाहरुका सम्भावनाहरुलाई एकीकृत गर्दै अबको बुटवललाई प्लानिङ सिटीका रुपमा विकास गर्नुपर्ने सहभागीहरुको सुझाव छ ।

सार्वजनिक जग्गाको संरक्षण गर्दै बहुउपयोगमा ल्याउनुपर्ने भन्दै कार्यक्रमका सहभागीहरुले हरियाली प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव छन् ।

सबैका सुझावलाई समेटेर नीति कार्यक्रम र बजेट ल्याउने नगर प्रमुख शिवराज सुवेदीले प्रतिबद्धता व्यक्त गरे । बुटवलको एकीकृत सहरी विकास र त्यसका आधारमा तयार पारिएको आवधिक तथा दीर्घकालिन महत्वका योजनालाई साकार पार्न निजी क्षेत्र र सहकारीसँग सहकार्य गरिने भन्दै प्रमुख सुवेदीले योजनाहरुको प्रभाव मूल्यांकन पनि सँगसँगै गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य तथा बुटवलका पूर्व नगरप्रमुख भोजप्रसाद श्रेष्ठले बुटवलको विकासका लागि यहाँका सबै राजनीतिक दल र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै जनसहभागितामा आधारित विकास निर्माणका कामलाई अझ टिकाउ बनाउनुपर्नेमा जोड दिए । बुटवलको सभ्यतालाई संरक्षण र विस्तार गर्दै सांस्कृतिक सहरका रुपमा विकास गर्नुपर्ने श्रेष्ठको भनाई थियो ।

प्रदेश योजना आयोगका सदस्य विष्णु गौतमले पूर्वाधार विकाससँगै सेवाप्रवाहलाई पनि प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्दै बुटवलको समृद्धिका लागि प्रचूर सम्भावना रहेको बताए ।
कृषि, स्वास्थ्य, पर्यटन र प्राविधिक क्षेत्रका जनशक्ति उत्पादन गर्दै योजनाबद्ध विकासका काममा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा उपप्रमुख गुमादेवी आचार्यले बुटवललाई लैंगिकहिंसामुक्त सहरका रुपमा विकास गरिन लागेको बताइन ।

प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बुटवलको विगत र चालु आवका प्रगति तथा आगामी योजनाका बारेमा अवधारणापत्र सार्वजनिक गरे । कार्यक्रमको सहजिकरण उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले गरेका थिए ।

शिक्षाविद् डा.तारा उपाध्याय, डा.रामलाल श्रेष्ठ, प्राडा आनन्दमान सिंह शाक्य, सशिशरण सुवेदी, सावित्रा अर्याल, लोकनाथ उपाध्याय, घनश्याम पाठकले शिक्षा क्षेत्रमा लगानी बढाउन सुझाव दिएका थिए ।

बुटवल चिनाउने स्थानीय पाठ्यक्रम तयार पारिएको भन्दै शिक्षाविद्हरुले उपमहानगरको प्रशंसा पनि गरे । बुटवलले कक्षा १ देखि ८ सम्म पठनपाठन गर्नेगरि एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार गरेको छ ।

त्यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उपाध्यक्ष हरि अर्याल, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका महासचिव माधवकुमार पौडेलले कृषि, पर्यटन, उद्योग र व्यापारजस्ता समृद्धिका आधारमा आफुहरु सहकार्य गर्न तयार रहेको बताए ।

नेपाली कांग्रेस बुटवल नगर उपसभापति बिमलराज भट्टराई, राष्ट्रिय जनमोर्चाका टानबहादुर केसीले बुटवलको विकासका लागि आफुहरु सहकार्य गर्न तयार रहेको भन्दै खानेपानी, ढल निकास, हरियाली प्रवद्र्धनका कामलाई प्राथमिकतामा राख्न सुझाव दिए । मजदुर नेता हरि कार्कीले मजदुरहरुको पञ्जिकरण गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

त्यसअवसरमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का आर्थिक सल्लाहकार डा.विश्व पौडेलले बुटवल मुलुकको आर्थिक र पर्यटकीय केन्द्रका रुपमा स्थापित भइरहेको भन्दै त्यसलाई उपयुक्त अवसरमा रुपका लिनुपर्नेमा जोड दिए ।


  •  
  •  
  •