निःशुल्क शिक्षा कार्यान्वयनको माग राख्दै सरकारलाई ध्यानाकर्षण

598
  •  
  •  
  •  

काठमाडौं, २९ चैत(ओएनएस) : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले निःशुल्क शिक्षा कार्यान्वयनको माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार अखिल र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ८ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने प्रावधानलाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्न उनीहरुले माग गरेका छन् ।

अनेरास्ववियुका अध्यक्ष नविना लामा र अनेरास्ववियू कान्तिकारीका कार्यवहाक अध्यक्ष सुरेन्द्र बस्नेतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निजी क्षेत्रमा चालु शैक्षिकसत्रमा मनोमानी रुपमा शैक्षिक शुल्क वृद्धि गरेको भन्दै सत्तारुढा विद्यार्थीले शिक्षाको निजीकरण र व्यापारीकरण रोक्नुपर्ने माग राखिएको छ ।

यस्तै बढाएर लिइएको शुल्क फिर्ता गराउन माग गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘एकपटक भर्ना गरेपछि हरेक वर्ष भर्ना गर्नुनपर्ने प्रावधान विपरीत हरेक वर्ष गैरकानूनी ढंगले भर्नाको नाममा अकुत पैसा उठाउने विद्यालयलाई बारबाही गरियोस् उक्त रकम विना शर्त फिर्ता गराइयोस् ।’

यस्तै संगठनले गण्डकी मेडिकल कलेज लगायतका मेडिकल कलेजमा तोकिएको भन्दा बढी लिइएको शुल्क फिर्ता गराउने सहमति पूर्ण र प्रभावकारी कार्यान्वयनको माग राखेको छ ।

 


  •  
  •  
  •