निःशुल्क हेमोडाइलासिस सेवा उपलब्ध गराउन सम्झौता

782
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच मिर्गौलासम्बन्धी बिरामीका लागि निःशुल्क हेमोडाइलासिस सेवा उपलब्ध गराउने विषयमा सहमति भएको छ ।

बुधबार महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।
सेनाले सञ्चालन गरेको वीरेन्द्र अस्पताल छाउनीबाट महानगरवासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने सो सेवा लिनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस लिनुपर्नेछ ।

नगर प्रमुख शाक्यले शहरी सेवा व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवद्र्धनका लागि महानगरले अघि बढाएको साझेदारीअन्तर्गत नेपाली सेनासँग सम्झौता गरिएको बताए ।
प्रधानसेनापति थापाले नेपाली सेनाले जनसाधारणको हित हुने क्षेत्रमा काम गरिरहेको बताए ।

सोका लागि महानगरपालिकाले शुरुमा रु एक करोड ५० लाख अनुदान रकम उपलब्ध गराउनेछ । हेमोडाइलासिसका लागि आवश्यक यन्त्र, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक सेनाले योजनासहितको खाका र लागत रकम महानगरसँग माग गर्नेछ । माग गरिएको रकम कार्य प्रगतिका आधारमा पुनः रु एक करोड ५० लाख उपलब्ध गराइनेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण भएको संरचना वा शुरु भएको सेवामा सेनाले महानगरपालिकाको सहयोगमा सञ्चालित भनेर उल्लेख गर्नेछ ।

तत्कालका लागि सेनाले वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोतसाधनबाट एक सिफ्ट थप गरी प्रतिदिन नौदेखि १२ सम्म बिरामीका लागि हेमोडाइलासिस सेवा दिनेछ । उक्त सम्झौताको अवधि पाँच वर्षको रहेको छ ।


  •  
  •  
  •