निर्मला पन्त घटनायता साढे ६ हजार बढी महिला, बालबालिका बलात्कृत

297
  •  
  •  
  •  


काठमाडौं । कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आइतबार तीन वर्ष पूरा भएको छ । निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । हत्याको दुई वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान टोली परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन नसक्दा पीडित परिवारलाई भने न्याय पाउने आश मरेको छ ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमै चर्चाको विषय बनेको निर्मला प्रकरणमा तीन वर्षको अवधिमा प्रहरीले उपलब्धि हात पार्न सकेको छैन ।

प्रहरीले अहिलेसम्म घटनाको कुनै निचोडमा नपुगेको तर अनुसन्धान भइरहेको जनाएको छ । घटनाको अनुसन्धानका लागि गृहमन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन तयार भएपनि ति कार्यान्वयनमा आउन सकेका छैनन् । अनुसन्धानमा खटिएका छ अधिकृत फेरिएपनि घटनामा सग्लनको पहिचान अझै हुन सकेको छैन । पन्तको बलात्कार र हत्या मुद्दामा जोडिएका आठ जना प्रहरीले भने सफाइ पाइसकेका छन् ।

यातना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी तथा एकिन्द्र खड्का र ज्ञानबहादुर सेठीले सफाइ पाएका हुन् । त्यस्तै प्रहरीहरू चाँदनी साउद, जगदीशप्रसाद भट्ट, रामसिंह धामी र हरिसिंह धामीले पनि सार्वजनिक न्यायविरुद्धको कसूर गरेको अभियोगबाट सफाइ पाएका छन् ।

‘न्यायको आस मरिसक्यो’

निर्मला पन्त हत्या घटनाको तीन वर्ष पुग्दा पनि अझै दोषी पत्ता लाग्न सकेको छैन ।
अहिले परिवारले न्यायको आस हराएको बताएका छन् । २०७५ साउन १० गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी निर्मला भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । सोही दिनदेखि निर्मलाको न्यायका लागि महिला अधिकारकर्मीदेखि नागरिक समाजलगायत विभिन्न संघसंस्थाले आन्दोलन सुरु गरेका थिए । २०७५ भदौ ८ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको मृत्यु भएको थियो । अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको प्रहरीले जनाएको छ ।

न्याय दिलाउन ध्यानाकर्षण: विश्वप्रकाश शर्मा

सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त घटनाको तीन वर्ष पुगेको सन्दर्भमा शर्माले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आग्रह गरेका हुन् ।
‘बालिका निर्मला पन्तको प्रकरण साउन १० गते ३ वर्ष पुग्यो,’ उनले लेखेका छन्, ‘सम्माननीय र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’ बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याका घटना नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनीतिक द्वन्द्वभन्दा माथि सामाजिक रूपान्तरणको साझा अठोट र अभियान जरुरी रहेकोमा शर्माले जोड दिएका छन् ।
‘प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ िसरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ,’ उनले लेखेका छन्, ‘निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, विशेष तदारूकता बढाऔं ।’

साढे ६ हजार बढी बलात्कृत

निर्मला पन्त घटनायता नेपालमा ६ हजार ६ सय ९५ जना महिला तथा बालिका बलात्कृत भएका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा गएको आर्थिक वर्षको जेठ महिनासम्म मात्रै २ हजार ३ सय २१ जना महिला एवम् बालिका बलात्कृत भएका छन् ।

जस अन्तर्गत प्रदेश नं १ मा ५५७, प्रदेश नं.२ मा ३ सय ३९ जना, प्रदेश नं ३ मा २ सय ७१, प्रदेश नं ४ मा १ सय ९०, प्रदेश नं. ५ मा ३९९, प्रदेश नं६ मा १ सय ४३, प्रदेश नं ७ मा २१३ बलात्कारका घटना घटेका छन् । यस्तै उपत्यकामा २ सय ९ वटा बलात्कारका घटना घटेको नेपाल प्रहरीले जनाएको छ ।

यस्तै गएको आर्थिक वर्षको जेठ महिनासम्म ६ सय ६६ वटा बलात्कार प्रयासका घटना घटेका छन् ।
यस्तै ६० वटा अपहरण गरी जबरजस्ती करणीका घटना घटेका छन् भने ४ जनाको बलात्कार गरी हत्या गरिएको छ ।

आर्थिक वर्ष ७५/७६ मा २ हजार २ सय ३० जना बलात्कृत भएका छन् भने ७ सय ८६ माथि बलात्कारको प्रयास भएको छ । यस्तै आर्थिक वर्ष ०७६/७७ मा २१ सय ४४ जना महिला तथा बालिका बलात्कृत भएका छन् भने ६ सय ८७ जनामाथि बलात्कारको प्रयास भएको छ ।


  •  
  •  
  •