कञ्चनपुर, १७ मंसिर(ओएनएस) । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका वास्तविक दोषीलाई सार्वजनिक गर्न माग राख्दै नागरिक संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पुनः धर्ना दिएका छन् ।
सोमबार बिहान ११ बजेदेखि प्रशासनको मुल गेटमा नागरिक संघर्ष समितिका पदाधिकारीले निधारमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् ।
नागरिक संघर्ष समितिका सदस्य शारदा चन्दले चार महिनासम्म हत्यारा सार्वजनिक नगरिएका कारण फेरी आन्दोलनमा उत्रनुपरेको बताइन् ।
सोमबार र मंगलबार प्रशासनको मुल गेटमा कार्यालय समयमा धर्ना दिइने उनको भनाइ छ । कार्यालय प्रवेश गर्ने मुख्यद्वारमै कालोपट्टी बाँधेर धर्नामा बसेपछि सेवाग्राही भने मारमा परेका छन् ।
आन्दोलनकारीले प्रशासनको मुल गेटभित्रबाट प्रवेश गर्न नदिएपछि वडा कार्यालयको गेट भएर कार्यालय जान लागेका सेवाग्राहीलाई समेत फर्काइदिएका छन् ।
नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले सरकारले हत्यारा सार्वजनिक गरे आन्दोलन फिर्ता हुने बताइन् ।
कञ्चनपुर प्रहरीले आन्दोलनभन्दा पनि अनुसन्धानमा नागरिकले सघाउनुपर्नेमा जोड दिँदै आएको छ । कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डको गहन छानबिन भइरहको जनाएको छ ।
गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी निर्मलाको शव भोली पल्ट उखुबारीमा फेला परेको थियो ।