निर्मला हत्या प्रकरण : निलम्बित डीएसपी जिसी अदालतमा उपस्थित

373
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा मुछिएका निलम्बित डीएसपी अंगुर जिसी सोमबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् ।

सीआईबीका निलम्बित डिएसपी जिसी आज बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् । अदालतले म्याद जारी गरेको १६ औं दिनमा अदालतमा उपस्थित भएका जिसीको दिनभर अदालतमा बयान हुनेछ । उनीमाथि पनि निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको र अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएको आरोप छ ।

एउटै आरोप लागेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित सात जना धरौटीमा रिहा भैसकेका छन् ।
जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले विष्टलाई आइतबार १० लाख धरौटीमा रिहा गरेको हो । विष्ट गत मंगलबार आफै अदालतमा उपस्थित भएक थिए ।

जिसी सहित ८ जना प्रहरी अधिकारीविरुद्ध निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको र घटनाका आरोपी मानिएका दीलिपसिंह विष्टलाई यातना दिइएको भन्दै मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि ६ प्रहरी ३१ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । घटनापछि अनुसन्धानमा संलग्न सिआइबीका डिएसपी अंगुर जिसी सम्पर्कमा थिएनन् ।


  •  
  •  
  •