निर्मला हत्या प्रकरण : पूर्व एसपी विष्टसँग १० लाख धरौटी माग

75
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला प्रकरणमा मुछिएका पूर्व एसपी डिल्लीराज विष्टसँग जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले विष्टसँग १० लाख धरौटी माग्ने आदेश गरेको हो । यसअघि शुक्रबार थुनछेक विष्टको बहस सकिएको थियो । उनी प्रहरीको हिरासतमा रहेका थिए ।

पूर्व एसपी विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको र घटनाका आरोपी मानिएका दीलिपसिंह विष्टलाई यातना दिइएको भन्दै मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि ६ प्रहरी ३१ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । घटनापछि अनुसन्धानमा संलग्न सिआइबीका डिएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् । विष्ट भने गत मंगलबार आफै अदालत समक्ष उपस्थित भएका थिए ।


  •  
  •  
  •