निर्मला हत्या प्रकरण : पूर्व एसपी विष्ट अदालतको आदेशपछि थुनामा

289
  •  
  •  
  •  

धनगढी, ५ चैत(ओएनएस) : निर्मला प्रकरणमा मुछिएका पूर्व एसपी दिल्लीराज विष्टलाई अदालतको आदेश पछि थुनामा राखिएको छ ।

डिल्लीराज विष्ट

लामो समयदेखि फरार रहेका पुर्ब एसपी बिष्ट निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि मंगलबार बिहान ११ बजे जिल्ला अदालत कंचनपुरमा उपस्थित भएका थिए ।
मंगलबार साढे ११ बजेदेखि विष्टको बयान शुरु भएको थियो ।

बेलुका पौने ५ बजे सम्म पनि बयान नसकिएपछि अदालतले उनलाई थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

अदालतको आदेश पछि विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा थुनामा राखिएको छ । श्रेस्तेदार अवस्थीका अनुसार बयान नसकिएपछि बुधबार बिष्टलाई फेरी अदालतमा उपस्थीत गराईनेछ ।
पूर्व एसपी विष्ट सहितका ८ जना विरुद्ध दीलिप विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तत्कालीन एसपी विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसीलाई भने २१ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको थियो ।


  •  
  •  
  •