निर्मला हत्या प्रकरण : तत्कालिन एसपी विष्ट र डीएसपी जिसीलाई २१ दिनभित्र उपस्थित हुन आदेश

360
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन(ओएनएस) : निर्मला प्रकरणमा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालिन एसपी डिल्लीराज विष्ट र डीएसपी अंकुर जिसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ ।

बिहीबारदेखि बयान लिन शुरु गरेको जिल्ला अदालत कञ्चनपुरले बयानका लागि उपस्थित नभएपछि तत्कालिन एसपी विष्ट र डीएसपी जिसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोप लगाउँदै फरक दुई मुद्दामा निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खडक सिंह विष्टले उनीहरुसहित ८ जना प्रहरीविरुद्ध बुधबार मुद्दा दायर गरेका थिए ।

अदालतमा उपस्थित ६ जना प्रहरीसँग जिल्ला अदालतले बिहीबारदेखि बयान लिन शुरु गरेको छ । बिहीबार निलम्बित डीएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्काको बयान लिइएको छ । उनीहरुलाई प्रमाण नष्ट र यातना सम्बन्धी दुई मुद्दामा बयान लिनुपर्ने भएकोले बिहीबार समय अभावले पूरा बयान लिन नसकिएको अदालतले जनाएको छ । सबैको बयानपछि थुनछेक बहस शुरु हुने अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन् ।

निलम्बित डीएसपी सेठी र इन्सपेक्टर खड्कासंगै इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद पनि अदालतमा उपस्थित भएका थिए ।

यस्तै प्रमाण नष्ट तथा यातना दिएको भन्दै बुधबार दायर मुद्दामा ‘एमिकस क्युरी’ अर्थात् अदालतको सहयोगीे गठनको आदेश अदालतले दिएको छ ।

बुधबार सरकारी वकिल कार्यालय कञ्चनपुरले दर्ता गरेको मुद्दामा प्रतिवादीका कानुन व्यवसायीले कानुन अनुसार अभियुक्तहरुको बयान लिन नमिल्ले तर्क गरेपछि अदालतले ‘एमिकस क्युरी’ गठन गर्ने आदेश समेत दिएको हो ।
गत साउन ११ गते निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना घटेको लामो समय हुँदा समेत अझै अपराधि पत्ता लाग्न सकेका छैनन् ।


  •  
  •  
  •