निर्मला हत्या प्रकरण : पूर्वडीएसपी सेट्ठीसहित ६ जना नियन्त्रणमा

223
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस): बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा प्रहरीले पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्वडीएसपी ज्ञान बहादुर सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउदसहित ६ जना छन् ।
डीएसपी सेट्ठीले केही महिनाअघि मात्र अवकास पाएका थिए ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर खड्का र साउदसहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित सम्पूर्ण प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता गरिएको थियो ।

यातना र प्रमाण नष्टसम्बन्धी मुद्दाको अनुसन्धान सकेर अदालतमा मुद्दा बुझाउने क्रममा संलग्न प्रतिवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) विष्टलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मुद्दाको फाइल बुझाएको हो ।

खड्ग विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का विरुद्धमुद्दा दायर गरेका थिए ।

निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

निर्मलाको गत साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
घटना घटेको आठ महिना वितिसक्दा पनि प्रहरीले अझै अपराधी पक्ता लगाउन सकेको छैन् ।

छोरीलाई बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरि कारबाहीको माग राख्दै अनशनमा बसेका निर्मलाका बाबुआमाले केही अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि सात महिनादेखिको अनशन तोडेका छन् ।


  •  
  •  
  •