नाम मिलेकै भरमा निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि छुटे

389
  •  
  •  
  •  

काठमाडाैँ, १३ बैशाख (अाेएनएस) :  नाम मिलेकै भरमा निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि छुटेका छन्। फरार अभियुक्तसँग नाम, थर र वतन मिलेका कारण अनाहकमा झापाका एक ब्यक्तिलाई जेल बस्नु परकाे हो।लामो प्रयासपछि कैद बसेका ती व्यक्तिलाई १३ दिनपछि रिहा गरिएको छ।

जिल्ला अदालत झापाले फरार अभियुक्तसँग नाम थर मिलेका कारण मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई कारागार चलान गरेको थियो ।

अदालतमा पेश गरिएको प्रमाणको आधारमा न्यायाधीश उद्धवप्रसाद भट्टराईलेथापालाई निर्दोष सावित गरेपछि बुधबार चन्द्रगढी कारागारबाट उनी मुक्त भएका हुन्।

घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक टाघनडुब्बा वडा नं २ का गुलाम रसुल मियाँ मौलबीको घरबाट ठूलो परिमाणको रक्त चन्दनको काठ प्रहरीले बरामद गरेको थियो ।

सो काठ लुकाएको अभियोगमा मेचीनगर–१० काँकडभिट्टाका अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले २६ लाख ९९ हजार २ सय रुपैयाँ जरिवाना र छ महिना कैद सजाय हुने ठहर गरेको थियो ।

तर, फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा प्रहरीले घटना भएका बेला वैदेशिक रोजगारीमा कतारमा रहेका निर्दोष श्याम थापालाई गत चैत ३० गते पक्राउ गरेर कारागारमा कैद गरेको थियो ।

निर्दोष श्याम थापाले परराष्ट्र मन्त्रालयबाट आफू घटना भएका बेला कतारमा रहेको प्रमाण निकालेर अदालतमा पेश गरेपछि मात्र उनलाई झापा जिल्ला अदालतले बुधबार निर्दोष सावित गर्दै रिहा गरेको हो ।


  •  
  •  
  •