बोक्सीको आरोप लगाई कुटपिट गर्नेमाथि कडा कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

303
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५ की २० वर्षीया राधा चौधरीलाई कुटपिट गर्नेमाथि कडा कारवाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयद्वारा आज जारी प्रेस नोटमा बोक्सीको आरोप लगाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाहीगर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिइएको छ ।

पीडित राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने र थप उपचारका लागि व्यवस्था गर्ने समेत निजी सचिवालयको विज्ञप्तिमा उल्लेख छ। ‘मानवताविरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइने छैन । घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ’ विज्ञप्तिमा उल्लेख छ।

फागुन २४ गते बिहीबार चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोले बाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेका थिए ।

प्रहरीले रामबहादुरलाई छानबिनका लागि पक्राउ गरेपछि कानूनी कारवाहीको प्रक्रियामा जान नदिइ उनलाई छोडिएको खबर सार्वजनीक भएपछि प्रधानमन्त्री ओलीले घटनाप्रति चासो देखाएका हुन् ।

सरकारले चौधरीको सम्पूर्ण उपचार खर्च बेहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्नेमा अग्रसरता देखाउदै र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।


  •  
  •  
  •