‘ज्यान त जोगियो तर, खुसी खरानी भयाे’

264
  •  
  •  
  •  

काठमाडौं, २४ चैत (ओएनएस) : ‘बिहानै आफन्तलाई विमानस्थल पुर्याउनु थियो, पुर्याएर विमानस्थल नजिकै बसिरहँदा केही व्यक्ति आएर अस्पताल जानुपर्यो भने । मानवीयतालाई सम्झेर सहजै अस्पताल जानका लागि स्वीकार गर्दा ती मानिसहरू पनि ट्याक्सीभित्र छिरे र छिर्नेबित्तिकै सलाई कोरेर एक्कासी आगो लगाइदिए । ट्याक्सीसँगै सबै काजगपत्र खरानी भए । ट्याक्सीभित्रै जलाउने प्रयास गर्दा जसोतसो गरी भागेर बाहिर निस्किँदा ट्याक्सी भित्तामा ठोक्किन पुग्यो । ट्याक्सी त जल्यो जल्यो खुसीहरू पनि साथमै जलाइयो ।’

यो भनाई कुनै कथाको पात्रको भनाई होइन, ट्याक्सी चलाएर जीवन गुजार्ने एक ट्याक्सी चालकको हो । एकाबिहानै आफ्नो जीवन गुजार्ने माध्यम ट्याक्सी अस्पताल जाने बहाना बनाएर छिरेका केही व्यक्तिले जलाइएपछि कुन मानिसको मन थामिएला र उनको थामियोस् । उनी पनि रूदै आफ्नो पिडा र दुःख बताउँदै थिए ।

उनी आँखाभरी आँशु लिएर अगाडि भन्दै थिए, ‘अस्पताल जाने भनेपछि हुन्न भन्न सकिन तर झन्डै मलाई पनि जलाएनन्, ज्यान त जोगियो तर मेरो खुसी पापीहरुले खरानी बनाए। ट्याक्सीमा रहेको मेरो पैसा पनि जल्यो परिवार पाल्ने साधनमात्रै होइन मेरा भविष्य सम्पूर्ण योजना पनि जलाएर खरानी बनाइदिए । मैले के अपराध गरेको थिए र मलाई सजाय दिए ?’

यसरी दैनिक जीवन गुजार्ने र भविष्यको सपनालाई साकार बनाउने माध्यम नै खरानी बनाइदिएपछि उनले रूनु सिवाय केही गर्न सकेका छैन् । बा १ ज १८७७ नम्बरको ट्याक्सी चलाएर गुजारा गर्ने हेटौडाका नीरज बानियाँको जस्तै पीडा अन्य धेरै निर्दोष मानिसले खेप्नु परिरहेको छ, बन्द, हड्ताल र आन्दोलनको निहुँमा । बन्द, हड्ताल जनताको लागी गरिएको हो या आफ्नो राजनीतिक स्वार्थपूर्ती गर्नका लागि गरिएको हो अभिप्राय त यीनै घटनाहरूले सहजै पुष्टी गर्छन् ।

जनताको हितका लागि गरिने भनिने यस्ता बन्द हड्तालले जनतालाई जीवनभर रूवाउन बाध्य पार्छ । यस्ता बन्द हड्तालले कसरी जनताको हित गरेका छन् ? दिनभर श्रम गरेर साँझबिहानको छाक टार्ने ती मजदुरहरूले बन्द र हड्तालका कारण बिहान बेलुका के खाने भन्ने अवस्थामा पुग्छन् भने त्यो बन्द हड्ताल जनताको लागी हो भन्नु कहाँसम्मको सही हो ?

बन्दको नाममा गरिएको आगजनी र तोडफोडले के नीरजको परिवार खुसी हुन सक्छ, के उसका भविष्यका ती सपनाहरू पुरा हुन सक्छन् ? जुन उनले निकै मेहेनत गरेर त्यही ट्याक्सीको साहारामा पुरा गर्ने सोच राखेका थिए । तर, अब के उनको भविष्यका सपना पुरा हुन्छन् यो बन्द हड्ताल सफल हुँदा ? बन्दकर्ताले के नीरजको भविष्यका सपनाहरूलाई पुरा गरेर उनको घाऊमा मलम लगाउन सक्छन्, यो बन्द हड्ताल सफल भएमा ?

balkumari (2)

पक्कै पनि यसको सम्भावना छैन् । नीरज जस्तै पीडा सहेर बाच्न बाध्य हुनेहरूले नीरज जस्तै रून्चे अनुहार लिएर आफ्नो भविष्य आफै अगाडि रहेको चरा केहीबेरमा भूर्रर उडेर गएजस्तै टाढा पुगेको हेर्न बाध्य भएका छन् ।

उनीहरूमा अब न त भविष्यको योजना तथा सपनाहरूलाई पुर्याउने कुनै माध्यम नै छ त न कुनै आशा जसबाट आफ्नो सपनाहरू साकार गर्न सकुन् ।

जनताको मुटुभरी काँडा घोपेर गरिएको बन्द हड्तालले जनतालाई कसरी खुसी दिन सक्छ ? बन्द हड्ताल जे होस् न जनताले आफ्नो काम छोड्न पाउँछन् न त दैनिक गुजारा गर्ने माध्यम । तर पनि बन्दकर्ताले यसलाई नबुझेको नाटक गरेर तीनै जनतालाई दुःख दिन छाडेका छैनन् ।

balkumari (3)


  •  
  •  
  •