मन्त्रीको खाजा : दुई महिनामा दुई लाख

81
  •  
  •  
  •  

काठमाडौं, १८ कात्तिक ।
मन्त्रिपरिषद् बैठक र बालुवाटारमा हुने विभिन्न बैठकमा प्रधानमन्त्री तथा मन्त्रीका लागि अर्डरबमोजिमका खाजा उपलब्ध हुने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दुई महिनायता खाजाको मात्रै दुई लाख १३ हजार २० रुपैयाँ बिल उठेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार खाजामा भएको खर्चमध्ये ७० प्रतिशतभन्दा बढी खर्च बालुवाटारमा भएका विभिन्न बैठकको हो । सिंहदरबारमा भएका मन्त्रिपरिषद् बैठकमा भने कम खर्च हुने गरेको स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीले गर्ने अन्य बैठकका लागि आवश्यक पर्ने खाजा गौतम खाद्य सप्लायर्सले उपलब्ध गराउँदै आएको छ ।

मन्त्रिपरिषद् कार्यालय लेखा शाखा स्रोतका अनुसार खाजाको प्रतिप्याकेट चार सय ५० रुपैयाँसम्म खर्च हुने गरेको छ । लञ्चमा भने प्रतिप्याकेट बढीमा ६ सय लाग्ने गरेको छ । स्रोतका अनुसार बालुवाटारमा हुने गरेका मन्त्रिपरिषद्बाहेकका अन्य बैठकमा पनि मन्त्रीहरूलाई खाजा दिइने गरिएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीले गर्ने छुट्टै बैठक र स्वकीय सचिवालयका अन्य पदाधिकारी तथा कर्मचारीसँग गर्ने छलफलपछि दिइने खाजामा पनि अत्यधिक खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न आउने उनीनिकटका व्यक्तिहरूलाई पनि खाजा खुवाउने हुनाले बढी बिल आएको हुन सक्ने कार्यालयका एक अधिकारीले बताए । उनले भने, ‘मन्त्रिपरिषद् बैठकमा भन्दा बालुवाटारमा भएका अन्य बैठकमा दिइएको खाजाका कारण बढी बिल आएको हो ।’

के खाजा खान्छन् मन्त्री ?
मन्त्रिपरिषद् बैठक बस्दा मन्त्रीहरूले आफ्नो रुचिअनुसार खाजा खाने गरेका छन् । रुचिअनुसार मांसाहारी, साकाहारी तथा फलफूलको व्यवस्था गर्ने गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकमा मन्त्रीका लागि खाजा तथा खानाको व्यवस्थापन गर्न तीनजना हेटे ब्वाईको व्यवस्था गरिएको छ । खरिदार तहका ती कर्मचारीले बैठक चलिरहँदा मन्त्रीहरूको रुचिबारे जानकारी लिने र सोहीअनुसारको चिया तथा कफी, खाजा तथा खानाको व्यवस्थापन गर्ने गर्छन् ।

कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक लामो समय बसेको अवस्थामा मन्त्रीहरूले ‘हेभी’ खाजा खाने गरेका छन् । ‘हेभी’ खाजामा मन्त्रीको रुचिअनुसार भेज र ननभेज दुवै व्यवस्था गर्ने गरिएको छ ।

भेज खाजाको प्याकेटमा पकौडा, मिठाइ, स्यान्डविच, केरा, स्याउलगायतका फलफूल राख्ने गरिएको छ । खाजासँगै मन्त्रीका रुचिअनुसार चिया तथा कोल्डड्रिंक्स पनि उपलब्ध गराइने कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार ननभेज खाजामा चिकेन रोस्ट तथा म:मलगायतको व्यवस्था गर्ने गरिएको छ । दिउँसोको समयमा बस्ने बैठकहरूमा मन्त्रीहरूले प्याकिङ खाजा खाने गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीका लागि चिया–कफीको व्यवस्थापन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफैँले गर्ने गरेको छ । खाना, खाजा तथा कोल्डड्रिंक्स भने विभिन्न क्याटरिङबाट मगाइने कार्यालयले जनाएको छ । बिहान बस्ने बैठक लामो लम्बिएको अवस्थामा चिया, बिस्कुट र खानाको व्यवस्था हुने गरेको छ । खानाका लागि लञ्च प्याकेटको व्यवस्था गर्ने गरिएको छ ।
नयाँपत्रीकाबाट


  •  
  •  
  •