निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सरकारलाई बुझायो १५ बुँदे मागपत्र

213
  •  
  •  
  •  

काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सरकारलाई १५ बुँदे मागपत्र बुझाएको छ ।

ट्रेड युनियनहरुले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई १५ बुँदे मागपत्र बुझाएकाे हाे ।

उक्त मागपत्रमा  विज्ञान तथा प्रविधि मन्त्रालय र  मन्त्रीस्तरको निर्णयबाट २०७६ माघ १४ गते राज्य व्यवस्था तथा सुशासन समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शिक्षा सेवालाई खारेज गरी प्रशासन सेवा अन्तर्गत शिक्षा प्रशासन समूहमा समूहीकृत गर्न लेखी पठाएको उक्त प्रावधान संघीय निजामती सेवा ऐनमा राख्न माग गरिएको छ ।

यस्तै ट्रेड युनियनले स्थानीय तहमा खटाईने प्रमुख प्रशासकीय अधिकृत त्यहाँ खटिएकामध्ये वरिष्ठ कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत तोक्ने जिम्मेवारी प्रदेशलाई दिनुपर्ने माग राखेको छ ।

यस्तै कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भएका कर्मचारीको हकमा संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी भए पश्चात निश्चित अवधिपछि संघरप्रदेशमा सरुवा हुने कानुनी आधारको स्पष्ट व्यवस्था हुनुपर्ने, निजामती कर्मचारीको परिभाषामा संघीय निजामती सेवामा कार्यरत निजामती कर्मचारी र संघीय कानून बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका निजामती सेवाका कर्मचारीहरुलाई बुझाउने छ भन्ने उल्लेख गर्नुपर्ने माग पनि राखिएको छ ।

निजामती सेवाको पदमा बहाल रहेको कर्मचारीलाई संघीय निजामती सेवाको खुला तथा आन्तरिक पदमा प्रतिष्पर्धा गर्दा उमेरको हद नलाग्ने एवं पदोन्नति भए पश्चात सो भन्दा अगाडिको सेवा अवधि जोडिने वर्तमान व्यवस्थालाई यथावत कायम गर्नुपर्ने, निजामती सेवा ऐन, २०४९ को दफा १०.(ग) अनुसार ४० वर्ष उमेर भित्र लोक सेवा आयोगको फाराम भरी प्रतिस्पर्धाबाट सिफारिस भई नियुक्ति भएका कर्मचारीहरूको निवृतिभरण प्रयोजनको लागि २० वर्ष सेवा अवधि नपुगेमा बढीमा २ वर्ष सेवा अवधि थप गरी पेन्सन दिन सकिने व्यवस्था (हालको व्यवस्था कायम राख्ने) गर्ने लगायतमा माग राखिएको छ ।

माग पत्रमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, शिक्षा विभागीय कार्य समितिका सहसचिव नगेन्द्रप्रसाद दहाल, नेपाल निजामती कर्मचारी संगठन, शिक्षा विभागीय कार्य समितिका अध्यक्ष शिवराज पोख्रेल, नेपाल निजामती कर्मचारी युनियन (संघ) शिक्षा विभागीय कार्य समितिका उपाध्यक्ष शिवप्रसाद सुयल र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, शिक्षा विभागीय कार्य समितिका सदस्य अष्ट लामाले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस्


  •  
  •  
  •