काठमाडौं, २० भदौ (ओएनएस) : भदौ २१ गते शनिबार काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजना हुन लागेको ‘दोश्रो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा करिश्मा र रमेशको आकर्षक नृत्य देखिनेछ । करिश्मा मानन्धर र रमेश उप्रेतीको नृत्य आकर्षणको केन्द्र बन्ने भएको छ । करिब ९ बर्षपछि रमेश उप्रेती कलिउडको गीतमा लाइभ प्रस्तुती दिने तरखरमा छन् । ‘मखमली माया दिउँला’, ‘लौ लौ आयो लिल्लीलाई’ लगायतका ५ हिट गीतलाई मिक्स गरेर तयार पारिएको ५ मिनेटको गीतमा यो जोडीले स्टेज तताउनेछन् ।
कार्यक्रमलाई भव्य बनाउने आयोजकले विभिन्न तयारी गरिरहेको छ । कार्यक्रममा विभिन्न प्रकारका ६ वटा नृत्य हुनेछन् । साउन २४ गते निधन भएका नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली दिदै उनको गीतमा विभिन्न कलाकारहरु नृत्य गर्नेछन् । नायक दीलिप रायमाझी श्रीकृष्ण बनेर नाच्ने तयारीमा छन् । उनलाई केकी अधिकारी, रिस्ता बस्नेत, सुष्मा कार्की, एनी कुँवर, निता पोख्रेल जस्ता कलाकारले साथ दिनेछन् ।
२० वटा विधामा वितरण गर्न लागिएको पुरस्कारका लागि श्रृलंकाबाट पनि विभिन्न फिल्मकर्मीहरु आउनेछन् । उत्कृष्ट निर्देशकले १ लाख नगद पुरस्कार पाउने यो समारोहका अन्य विधाका कलाकर्मीहरुले ५१ लाख नगद र ट्रफी प्राप्त गर्ने बताइएको छ । नियमित विधाबाहेक पत्रकारिता, व्यावसायिक फिल्म र जुरी अवार्ड पनि प्रदान गरिनेछ ।
यसपटकको अवार्ड स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ, स्वर्गिय वरिष्ठ मेकअपम्यान साम्भा डि पाटिल र स्वर्गिय निर्देशक शिव रेग्मीप्रति समर्पित हुने आयोजकले जानकारी दियो ।रेमनदास श्रेष्ठ र नम्रता श्रेष्ठ, विल्सन विक्रम राई र संयम पुरी जोडीको रुपमा कार्यक्रम संचालन गर्नेछन् । शनिबार साढे ३ बजेबाट रेड कार्पेट सुरु हुने पुरस्कार समारोह भने ४ बजेपछि सुरु हुनेछ ।