आगामी हप्ता जीएमआरसँग पीडीए हुन्छ : उपाध्यक्ष पोख्रेल

90
  •  
  •  
  •  

काठमाडौ, १२ भदौ (ओएनएस) : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द्र प्रसाद पोख्रेलले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विकासका लागि आगामी हप्ता भारतीय कम्पनी जीएमआरसँग विद्युत विकास सम्झौता (पीडीए) हुने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले सन् २०२२ सम्म मुलुकलाई विकसित राष्ट्रको सूचिमा पुर्याउने राष्ट्रिय लक्ष्य पुरा गर्न ९७ खर्व विदेशी लगानी आवश्यक रहेको भन्दैै विदेशी लगानीलाई प्रवद्र्धन नगरेसम्म लक्ष्य पुरा नहुने बताए । पोख्रेलले नेपाली पूँजिले मात्र सम्भव नरहेको भन्दै यसको लागि जलविद्युत र कृषि क्षेत्रमा विदेशी लगानी प्रर्वदन गर्नु पर्नेमा जोड दिए ।

आफू संयोजक रहेको समितिले माथिल्लो कर्णालीमा पीडीए गर्न प्रधानमन्त्री सुशिल कोइरालालाई प्रतिवेदन बुझाएको र उक्त सुझाव सहित लगानी बोर्डलाई प्रतिवेदन बुझाइसकेको जानकारी दिँदै उनले लगानी बोर्डले आगामी हप्ताभित्रै सम्झौता गर्ने बताए । उनले नेपालमै विद्युत उपभोग गर्ने गरि पीडीए र पीटीए गर्नुपर्नेमा जोड दिँदै माथिल्लो कर्णालीमा पीटीए गर्ने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सम्झौता हुन्छ । नेपालको हित ध्यानमा राखिन्छ ।’

पोख्रेले जीएमआरलाई भ्याट छुट दिने विषयलाई नेपाललाई फाईदा हुने गरि ब्यवस्था मिलाइने स्पष्ट पारे । सन् २००८ मा खुल्ला प्रतिस्पर्घाबाट छानिएको जीएमआरले आयोजना विकासको अनुमाति पाएको छ । १४० अर्ब लगानी लाग्ने सो परियोजनाबाट २ सय ३९ परिवार विस्थापित हुन्छन भने ४९ हेक्टर निजी र २०८ हेक्टर क्षेत्र सरकारी जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता छ ।

पोख्रेलले जीएमआरसँगको पीडीए अन्तिम अवस्थामा पुग्न लागेको जानकारी दिदै त्यसबाट १०८ मेघावाट विद्युत निशुल्क प्राप्त हुने, २७ प्रतिसत निशुल्क शेयर पाउने र २००० हजारले प्रत्यक्ष रोजगारी पाउने बताए । उनले २५ वर्षमा सरकारको स्वामित्वमा आउने आयोजनाबाट सो अवधीमा ४ सय अर्व आम्दामीसमेत हुने बताए ।

स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष खड्ग बहादुर विष्टले नेपालका खोलाहरु त्यसै अनुत्पादक रुपमा बगिरहेकोले ठूला परियोजना ल्याएर त्यसको विकास गर्नुपर्ने भन्दै ठूला परियोजनाहरु नेपाल आफैले विकास गर्न नसक्ने भएकोले विदेशी लगानी आवश्यक रहेको बताए । उनले त्यसका लागि जीएमआरसँग पीडीए गरेर अघि बढ्नुपर्ने र यसले अन्तर्राष्ट्रिय लगानी आर्कषित गर्न बातावरण बनाउने विश्वास ब्यक्त गरे ।

अछामका सभासद भरत साउदले नेपालको हितलाई हेरेर पीडीए गर्नु पर्नेमा जोड दिँदै स्थानीय प्रभावितको सरोकार टुङगो लागिसकेकोले छिट्टै सम्झौता गर्नु पर्ने बताए । उनले स्थानीयको मागलाई सम्बोधन गरेर अघि बढ्न आग्रह गरे । त्यस्तै दैलेखका सभासद लक्ष्मि प्रसाद पोख्रेलले दुई साताभित्र जीएमआरसँग पीडीए हुने बताउँदै स्थानीयको रोजगारी, क्षतीपूर्ति, पाँच मेघावाट विद्युत निशुल्क दिने, १० प्रतिसत सेयर दिने लगायतका विषयलाई संबोधन गरेर अघि बढ्नु पर्ने बताए । पोखरेलले स्थानीय सरोकारका सवै विषयहरु टुँगो लागि सकेको पनि जानकारी दिएका छन् ।


  •  
  •  
  •