काठमाडौं, २५ असाेज (ओएनएस) : गत भदाैँ ८ गते बलात्कृत बालिकाको मेडिकल रिपोर्टमा बलात्कार नभएको भनी मेडिकल रिपोर्ट तयार गर्ने दुई डाक्टर निलम्बित भएका छन् । जनकपुर अञ्चल अस्पतालमा पीडित बालिकाको शारीरिक तथा स्वास्थ्य जाँच गराउने डाक्टरहरु रम्भा गोइत र विजयकुमार सिंहलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको हो ।
डाक्टर द्धय गोइत र सिंहले तयार पारेकाे मेडिकल रिपोर्ट र सिरहा जिल्ला अस्पतालले दिएकाे रिपोर्ट फरक भएपछि जिल्ला सरकारी वकिल कार्यालय धनुषाले २०७५ असोज २ गते नेपाल मेडिकल काउन्सिललाई पत्र लेख्दै छानबिनका लागि आग्रह गरेकाे थियाे भने असोज १६ गते महान्यायाधिवक्ता कार्यालय तथा असोजकै १८ र २० गते गृह मन्त्रालयले पनि डाक्टरको रिपोर्टबारे छानबिन गर्न नेपाल मेडिकल काउन्सिललाई पत्र लेखेकाे थियाे। यी पत्रहरुका आधारमा काउन्सिलले असोज १९ गते एक छानबिन समिति बनायो । उक्त समितिमा काउन्सिलका सदस्य डाक्टर कालुसिंह खत्रकिो संयोजकत्वमा फरेन्सिक विज्ञ हरिहर वस्ती, प्रसुती रोग विशेषज्ञ डाक्टर मधु तुम्बाहाम्फे तथा स्वास्थ्य मन्त्रालयका कानुन हेर्ने उपसचिव पुष्करराज नेपाल रहेका थिए।
उक्त समितिले छानबिन पश्चात असोज २३ गते काउन्सिललाई प्रतिवेदन दिँदै अञ्चल अस्पतालका डाक्टरहरु विजयकुमार सिंह र रम्भा गोइतले गम्भीर लापरवाही तथा चिकित्सकीय आचरणविपरीत गलत रिपोर्ट दिएको भन्दै कारवाहीको लागि सिफारिश गरेपछि बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले डाक्टर द्धय गोइत र सिंहलाई निलम्बन गर्दै चिकित्सकीय अभ्यास गर्नबाट बञ्चित गराएको हो ।
काउन्सिलका प्रवक्ता डाक्टर कृष्ण अधिकारीका अनुसार यी दुई डाक्टरले बलात्कृत बालिकाको रिपोर्टमा चिकित्सकीय आचारणविपरीत गलत रिपोर्ट दिएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको बताए ।