सीमित सम्बोधन, असीमित आशंका

196
  •  
  •  
  •  

समाचार टिप्पणी
अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुमा चाहेकै स्थान जानकी मन्दिर परिसरमा भाषणको कार्यक्रम तय भएको छ ।

यसअघि मन्दिर परिसरमा गर्ने भनिएको सम्बोधनलाई बाह्रबिघा मैदानमा सार्न खोजिएको थियो । मंसिर ९ गते राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुलाई भेला पारेर मोदीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यससम्बन्धी कार्यक्रमको व्यवस्थापन र आतिथ्य सत्कारमा भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि जनकपुरमै व्यस्त छन् । मोदीको सम्बोधन आमनागरिकको सभा नभई सीमित नेता, नागरिक अगुवा तथा सञ्चारकर्मीमाझ हुने भनिएको छ ।

यसअघि भारतीय राजदूत रञ्जित रेले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र लुम्बिनीमा भाषणका क्रममा सम्बोधन गर्नुपर्ने विषयका बारेमा तराईका राजनीतिक दल, नागरिक अगुवा र दूतावासका अधिकारहरुसँग छलफल गरेका थिए । के भन्दा जनता खुसी हुन्छन्, केके विषयमा सम्बोधन गर्नुपर्छ भन्ने नै उनका प्रमुख जिज्ञासा थिए । साथै उनले ती क्षेत्रका लागि विकास निर्माण र आर्थिक सहयोगसम्बन्धी मागसमेत संकलन गरे ।

स्रोतअनुसार, अधिकांश माग एक दर्जन सभासद् र बृहत्तर जनकपुर क्षेत्र विकास समिति सहितको टोलीले यो प्रस्ताव राजदूतलाई दिएको छ । यसमा करिब डेढ दर्जन आयोजना माग गरिएको छ । तिनको अनुमानित लागत ५ अर्ब रुपियाँभन्दा बढी हुन्छ । मागमा जनकपुरलाई धार्मिक पर्यटकीय तीर्थस्थलको रुपमा विकास गर्ने, धर्मशाला, पोखरी संरक्षण, कृषि विश्वविद्यालय बनाउने लगायत छन् । तिनै मागको सूची बोकेर राजदूत रञ्जित रे दिल्ली उडेका थिए ।

मोदीको औपचारिक कार्यक्रम भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलनमा सहभागिता हो । रामजानकी विवाह पञ्चमीको अवसर समेत पारेर यसैबीच मोदी जानकी मन्दिर दर्शन गर्दै छन् । मागको सूची र तरिका हेर्दा लाग्छ, अर्कै कामको लागि आएको पाहुना, बाटोमा तीर्थ परेकाले दर्शन गरेर जान्छु भन्छ, त्यसैसँग हाम्रो सरकार र नेताहरु हात फैलाउँदै छन् । मोदीसँग माग्ने अनि मोदीले पनि दिने । हाम्रा नेता र सरकारको हैसियत के हो ? मुख्यतः यो प्रश्न आज जीवन्त बनेको छ । तर, गम्भीरतापूर्वक यस प्रश्नमा घोत्लिन कोही तयार छैन । प्रश्नको व्यावहारिक उत्तर दिन सकिएला, ‘यस्तै त हो नि’ भनेर । तर, दीर्घकालमा यसको राजनीतिक र सामरिक प्रभाव के पर्छ भन्नेतर्फ कसैले विचार पु¥याएको देखिँदैन ।

मोदीको जनकपुर भ्रमणका लागि भारतीय दूतावासका अधिकारीहरुको टोली जनकपुर–वीरगञ्ज क्षेत्रमै व्यस्त छ । यसअघि बीजेपीकै उच्च पदाधिकारी आएर पनि यो माहोल बनाएका थिए । जनकपुर भ्रमणको कभरेजका लागि भारतीय सञ्चार माध्यमहरुको व्यग्र चासो देखिन्छ । केही समाचार च्यानलहरुले तयारीदेखिकै समाचार संकलन गरिरहेका छन् । त्यसैले मोदीको सार्क सहभागिताभन्दा महत्वका साथ हेरिएको छ, जनकपुर भ्रमणलाई । अर्थात्, मधेसमा उनको उपस्थिति र प्रस्तुति सबैको चासोको विषय बनेको छ ।
सबैले बुझेका छन्, मोदीको जनकपुर–लुम्बिनी दर्शन र सार्वजनिक भाषण काठमाडौँको संसदमा गरिएको मधेसनिरपेक्ष भाषणको शोधभर्ना हो । भारतीय भाषा, संस्कृति र भूगोल सबै मिल्ने यो क्षेत्रसँग विशेष लगाव रहेको कुरा व्यक्त अव्यक्त रुपमा मोदीले प्रवाहित गर्दै छन् । उनैले दिने विकास आयोजनाको स्रोत र दिल्लीसँग सीधा सम्पर्क कायम गर्ने अन्तर्राष्ट्रिय विमानस्थल त सांकेतिक विम्ब मात्र हुन् ।

मोदी ५ किलोमिटर बिहारमा र ५ किलोमिटर नेपालमा गाडीमा यात्रा गर्नेछन् । उनी भारतको पटनाबाट भिट्टामोड हुँदै मोटरबाट महोत्तरी, पर्काउलीस्थित नेपाली सेनाको शेरगण ब्यारेकमा मंसिर ९ गते बिहान पुग्ने कार्यक्रम छ । उनलाई ब्यारेकबाट नेपाली सेनाकै हेलिकप्टरले जनकपुरको बाह्रबिघा प्रांगणमा पु¥याउनेछ । त्यहाँबाट मोदी गाडीमै जानकी मन्दिर पुग्नेछन् । मोदी आउने भएपछि भिट्टामोेडतिरको बाटो नेपाल सरकारले टालटुल पार्दै छ । तालिका हेरफेर नभएमा जनकपुरको डेढ घण्टा बसाइमा उनले ४५ मिनेट जति भाषण गर्ने तय भएको छ, जुन राष्ट्रपतिदेखि दलका नेताहरुको चाहनाविपरीत हो ।

मोदीले ‘सीमित’लाई सम्बोधन गर्ने भने पनि यसको सन्देश र प्रभाव सीमित हुने छैन । सन्दर्भ यस्तो परेको छ, धार्मिक हिसाबले जनकपुर यसै पनि भीडभाड हुने समय हो । नेपाल मात्र होइन, बिहारबाट पनि ठूलो संख्यामा मानिस जनकपुर आउँछन् । जानकी मन्दिरमा मानिस नअट्ने चिन्ता मन्दिर व्यवस्थापनलाई छ । नेपालका प्रमुख राजनीतिक दल, संसदीय समितिहरु र राष्ट्रपतिले समेत नचाहेको सम्बोधन मोदीले किन गर्दै छन् त ?

दूतावास अधिकारीहरुका भनाइमा, खासमा भगवानको पूजाभन्दा केही बोल्दा राम्रो हुन्छ भन्ने बुझाइका आधारमा मोदीले भाषण गर्न लागेका हुन् । तर, उनको सम्बोधनलाई मुख्यतः हिन्दूवादी राजनीतिक एजेन्डासँग गाँसेर हेर्ने गरिएको छ । उनी आफै पनि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का नेता हुन् । उनको दल भारतीय जनता पार्टी (बीजेपी) हिन्दूवादी दर्शन र एजेन्डाको वाहक हो ।

यही मौकामा विश्व हिन्दू परिषदका एक उपाध्यक्षको नेतृत्वमा करिब दुई सय भारतीय साधुहरु पनि त्यहाँ भेला हुनेछन् । रामजानकी विवाह महोत्सवमा सहभागी भएर मन्दिर परिसरमै भाषण गर्न खोज्ने मोदीले के बोल्नेछन् भन्दा पनि कहाँ बोल्दै छन् भन्ने कुरा अर्थपूर्ण रहेको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।
नेपालको संविधान निर्माणको काम निर्णायक चरणमा रहेका बेला पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणमा गएका छन् ।

भारतीय राजदूत रे र पूर्वराजा ज्ञानेन्द्र सँगसँगै जसो भारत जानु संयोग मात्रै हुन सक्ला तर रे भारत जानुअघि तुल्सी गिरीजस्ता राजावादीहरुको घरैमा गएर मन्त्रणा गर्नुले भारतीय संस्थापनको भूमिकालाई थप अनुमानयोग्य बनाइदिएको छ । हिन्दूवादी भोटो कमल थापाले मात्र थाप्न नसक्ने निष्कर्ष निकाल्दै प्रकट–अप्रकट शक्तिकेन्द्रबाट खुमबहादुर खड्कालाई अघि सारिएको छ । र, उनका पछाडि कांग्रेसको ठूलै र प्रभावशाली पंक्ति रातारात उभ्याउन सक्नुमा राजनीतिमा ‘पर्सना नन ग्राटा’ घोषित भइसकेका खड्काको एक्लो तागत हो भन्नु अत्युक्ति नै हुनेछ ।

निर्विवाद छ, मोदीको नेपालका प्रति बढी नै सदिच्छा देखिन्छ । त्यसैले यहाँ धेरै अस्थिरता नहोस्, संविधान बनोस् भन्ने नै चाहन्छन् होला । नेपालको संसदमा दिएको भाषणमा पनि हाम्रा नेताहरुलाई ‘ऋषिमन’को मन्त्र दिनुलाई उनको पवित्र आध्यात्मिक वाणी नै मान्न सकिएला । तर, जनकपुरमा भाषण गरेरै छाड्ने मोदी अडानको सन्देश के हुन सक्छ ? नेपालका नेता, पार्टी र सरकारले नचाहे पनि, विरोध गरे पनि उनले जे चाहन्छन् त्यही हुन्छ भन्ने हो ?
मोदीसँगका माग
-जनक दरबार, जहाँ संसद भवन, मन्त्रालयदेखि निवासलगायत बनाउने ।
–  धाममा चिडियाखाना बनाउने ।
-१५ दिने परिक्रममा मार्ग
– धर्मशाला, विश्रामस्थल
-पोखरी जीर्णोद्दार ।
-जनकपुरबाट विभिन्न धार्मिक स्थानमा जाने पर्यटक सडक बनाउने ।
– राष्ट्रिय स्तरको खेलकुद स्टेडियम बनाउने ।
–  चुरे संरक्षण गर्ने ।
–  मिथिया–अवध रेल सेवा
– जनकपुरमा क्षेत्रीय विमाानस्थल बनाएर खाडी र दिल्लीसँग सीधै जोड्ने ।

मोदिले मन्दिर परिसरमा सीमित व्यक्तिलाई मात्र सम्बोधन गर्ने


  •  
  •  
  •