कस्ताे निर्णयमा वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठले लेखे ‘नोट अफ डिसेन्ट’?

474
  •  
  •  
  •  

काठमाडौं,६ कार्तिक (ओएनएस) : प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले गत ५ असोजमा भएकाे निर्णयलार्इ लिएर ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णयप्रति असहमति जनाउँदै वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् ।

बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधि, प्रक्रिया र मापदण्डका आधारमै एकताको बाँकी काम टुंग्याउँदै पार्टी सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।‘उहाँहरुको नोट अफ डिसेन्टलाई बाहिर नलैजाने तर पुरानै निर्णयलाई निरन्तरता दिने सहमतिमै सर्बसम्मत निर्णय भएको हो’, बैठकपछि एक सचिवालय सदस्यले भने, ‘पार्टी एकताका बाँकी काममा विधि, प्रक्रिया र मापदण्ड अपनाउन गम्भीर रूपमा ध्यान दिने तथा त्रुटि नदोहोर्‍याउने गरी माधव कमरेडको असन्तुष्टिपत्रका विषयमा मध्यमार्गी समाधान खोजिएको छ ।’

निर्णयबाट पार्टी एकतासम्बन्धी सबै निर्णय सर्वसम्मत गर्ने अन्तरिम विधानको धारा–३८ ‘ग’ उल्लंघन भएको दाबीसहित नेपालले लिखित असहमति राखेका थिए । वरिष्ठ नेता नेपालले पार्टी सञ्चालनमा नेतृत्वको कार्यशैली विधानविपरीत भएको भन्दै तीनवटा विषय उठाएका थिए । पार्टी एकतासम्बन्धी निर्णय सहमतिका आधारमा हुनुपर्ने अन्तरिम विधानको धारा ३८ ‘ग’ को व्यवस्था उल्लंघन गर्दै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको विषय असहमतिपत्रमा मुख्य रूपमा उल्लेख थियो । सचिवालयको नोट अफ डिसेन्टमा पनि नेपाल र श्रेष्ठले यही विषय दर्ज गराएका छन् । प्रदेशको नेतृत्व चयन हुँदा वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठ देशबाहिर थिए ।


  •  
  •  
  •