काठमाडौं, २७ असाेज (ओएनएस) : नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले ठूलो संरचनाको सङ्घीयताका कारण मुलुकमाथि आर्थिक बोझ बढ्दै गएको बताएका छन्। उनले सङ्घीय संरचना महङ्गो बन्दा सङ्घीयता नै कमजोर बन्दै गइरहेकाे दावी गरे।
नेपाली लेखक सङ्घ कास्कीद्वारा आज आयोजित नेपालको वर्तमान सङ्घीय प्रादेशिक र स्थानीय कर प्रणाली विषयक अन्तक्र्रियामा पूर्वअर्थमन्त्री महतले यस्ताे बताए।
सङ्घीय संरचना धान्नकै लागि देशैभरी करवृद्धि र स्थानीय तहमा कानून विपरीत कर उठाउन थालिएको बताउँदै उनले कर उठाउने नीति नियम स्पष्ट नहुँदा जनताले महङ्गो कर तिर्न बाध्य भएको उल्लेख गरे ।
देशमा तीन तहको सरकार र स्थानीय तहमा मात्र ७५३ सरकार रहेको उल्लेख गर्दै उनले तीनवटै सरकारको प्रशासनिक संरचना ठूलो र देशको अर्थतन्त्र सानो हुँदा देशले आर्थिक रुपमा धान्न मुस्किल भएको धारणा राखे ।देशको ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च गर्ने, भत्ता बढाउने, तालीम र गोष्ठीमा फजुल रुपमा पैसासक्ने जस्ता प्रवृत्ति रोकिनुपर्नेमा उनको जोड छ।