मंगल ग्रहमा उत्रियो झन्डै २० हजार बेगकाे यान, खुल्नेछन् अर्बौं वर्ष पुराना यस्ता राज!

429
  •  
  •  
  •  

काठमाडौं, ११ मंसिर (एजेन्सी) : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान इन्साइट ल्यान्डर नेपाली समयानुसार मंगलबार राती करिब पौने दुई बजे मंगलग्रहमा उत्रियो । मंगल ग्रहका लागि पठाइएको यो नयाँ रोबोटले सात मिनेटमा ल्यान्डिङ गरेको हो ।नासाको इन्साइट मिशनको लक्ष्य मंगलको जमिन र आन्तरिक भागको अध्ययन गर्नु हो र पृथ्वीबाहेक यो एक्लो ग्रह हो जसको नासाले यस्तो अध्ययन गर्दैछ । यसको ल्याण्डिङको क्रममा सात मिनेट निकै तनावपूर्ण बित्यो । उक्त यानले चरणबद्ध रुपमा धर्तीमा सन्देश पठाइरहेको थियो ।

जब इन्साइट मंगल ग्रहमा सुरक्षित तरिकाले अवतरण गर्यो तब क्यालिफोर्नियामा नासाको मिशन कन्ट्रोलमा खुसीको बहार छायो । उक्त यान एलिसियम प्लानिशिया नामको समथर मैदानमा अवतरण भएको छ जुन यो रातो ग्रहको भूमध्य रेखा नजिक छ ।

अहिलेका लागि वैज्ञानिक यो यानमार्फत वरिपरिको जानकारी र तस्बिरको प्रतिक्षा गरिरहेको छ । यी सबै जानकारी केही घण्टाभित्र धर्तीमा आउने सम्भावना छ ।

जिउँदै फर्किने आशा कम भएपनि मंगल ग्रहमा जान चाहन्छन् यी खर्बपती, दिए सगरमाथाको उदाहरण

के हो इन्साइट ल्यान्डर ?

मंगलमा अवतरणका लागि सात मिनेट निकै महत्वपूर्ण मानिएको थियो । यसका लागि यानले आफ्नो गती २० हजार किलोमिटर प्रतिघण्टासम्म कम गर्नुपर्दथ्यो । इन्साइटले मंगल ग्रहबारे यस्ता जानकारी दिनसक्छ जुन अर्बौं वर्षदेखि पत्ता लाग्न सकेको छैन ।

आफ्नो अभियानको क्रममा यो यानले मंगलग्रहमा एउटा साइज्मोमिटर राख्नेछ जसले यसभित्रको हलचल रेकर्ड गर्नेछ । यसले मंगल ग्रहभित्र भूकम्पजस्तो कुनै हलचल हुन्छ कि हुँदैन भनेर पत्ता लगाउनेछ । यो पहिलो यान हो जसले मंगलग्रहलाई खनेर यसबारे रहस्यमयी जानकारी जुटाउनेछ । साथै, एक जर्मन उपकरण पनि मंगल ग्रहको जमिनको पाँच मिटर मुनी गएर तापक्रमबारे जानकारी दिनेछ ।

ग्रहको यो तापक्रममार्फत मंगल अहिले पनि कति सक्रिय छ भन्नेबारे पत्ता लाग्नेछ । यसको तेस्रो प्रयोगमा रेडियो ट्रान्समिशनको प्रयोग हुनेछ जसमार्फत यो ग्रह आफ्नो अक्षरेखामा कसरी घुम्छ भनेर पत्ता लाग्छ ।

यो अभियानसँग सम्बन्धित एक वैज्ञानिक सुजेन स्म्रेकर भन्छिन्, ‘तपाईं एउटा काँचो र पाकेको अण्डा लिनुहोस् । दुबैलाई घुमाउँदा त्यो भिन्न तरिकाले घुम्छ किनभने त्यसभित्रको तरल पदार्थ भिन्न हुन्छ । आजसम्म हामीलाई थाहा छैन कि मंगलभित्र तरल पदार्थ छ कि ठोस् छ । साथै, यसको भित्री भाग कति ठूलो छ त्यो पनि थाहा छैन । इन्साइटले हामीलाई त्यो जानकारी उपलब्ध गराउनेछ ।’बीबीसी


  •  
  •  
  •