तीन राप्रपबीचकाे एकता भाँडिएपछि राणाले लगाए थापामाथि यस्तो गम्भीर आरोप

55
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक (अाेएनएस) : नेकपाकाे माेडलमा एकता गर्न तयार तीन राप्रपबीच केही विषयमा मत बाँझिएपछि एकता नै भाँडिएकाे छ। प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यअनुसार विगतमा जुट्दै र फुट्दै आएका उनीहरु पुन: एकीकरण हुने अन्तिम चरणमा पुगेपछि फेरि दुर्इ वटा विषयमा एक अर्काबीच मत बाँझिएपछि एकता नै भाँडिन पुगेकाे हाे।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पुनः एकीकरणको गृहकार्य भइरहेकाे बेला थापा र राणाबीच राजसंस्था र चुनाव चिह्रनका विषयमा विवाद भएपछि आईतबार दिउँसो एकता प्रक्रिया भाँडिएको नेताहरुले बताएका छन् ।

साेही क्रममा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप समेत लगाएका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४–५ दिनको समय माग्दा थापाले नमान्दा एकता प्रक्रिया रोकिएको बताए।

उनले भने,’ एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापा मान्न तयार भएनन्’ राणाले कमल थापाको ‘तातै खाउँ जल्दै मरौँ’ प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको बताए ।

एकताका लागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चिन्ह र नाम टुङ्गो नलागेको राणाले जानकारी दिए । “तीनवटा पार्टी मिल्दा सबैले सम्झौता गर्नुपर्छ । नाम, झण्डा र चुनाव चिन्ह सबै एउटै पार्टीको कायम राख्न सकिदैन । गाईलाई चुनाव चिन्ह मान्न म सक्दिन ” राणाले भने ।

धर्मनिरपेक्षका विषयमा भने सहमति भइसकेको उनले बताए । तीनवटै राप्रपा हिन्दुराष्ट्रको पक्षमा रहेको राणाको भनाई थियो ।


  •  
  •  
  •