अर्काे अाँधी निलोफरको संकेत !

100
  •  
  •  
  •  

काठमाडौं १० कात्तिक
‘हुदहुद’ नामको आँधीले निम्त्याएको क्षतिको विवरण आइनसक्दै अरब सागरमा अर्को आँधीको संकेत देखा परेको छ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माका अनुसार अहिले अरब सागरमा ‘डिप्रेसन’ (आँधीअघिको मौसमी अवस्था) देखा परेको छ।

‘त्यो डिप्रेसन विकसित भयो भने साइक्लोन अर्थात् चक्रवात (आँधी) को रूप लिनेछ, अरब सागरमै देखा परेको मौसमी प्रणालीको असरस्वरूप आइतबारदेखि पूर्वी भाग र काठमाडौंसम्मै मौसममा गडबडी देखिएको हो,’ शर्माले कान्तिपुरसँग भने, ‘यसको असर केही दिन रहन सक्छ।’

अरब सागरबाट भुटान, सिक्किम हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीको असरका साथै पश्चिम वायुको समेत प्रभावका कारण मौसममा गडबडी आएकाले पदयात्राका लागि उपयुक्त समय नभएकोसमेत महानिर्देशक शर्माले बताए। ‘एकै पटक दुईवटा प्रणाली विकसित भएकाले पदयात्रा गर्न उपयुक्त मौसम छैन,’ उनले भने।

उता, ‘भारतीय मौसम विज्ञान विभाग’ले अरब सागरमा देखा परेको ‘डिप्रेसन’ले सोमबार वा मंगलबारसम्ममा चक्रवात (आँधी) को रूप लिन सक्ने अनुमान गरेको छ। त्यो चक्रवात ओमान हुँदै करिब सातापछि भारतको गुजरात आइपुग्नेछ। सम्भवतः त्यस चक्रवातको नाम ‘निलोफर’ राखिने ‘भारतीय मौसम विज्ञान विभाग’लाई हवाला दिँदै ‘न्युमेरिकल वेदर प्रेडिक्सन’ ले जनाएको छ। ‘निलोफर’ नामको चक्रवातको नाम पाकिस्तानले तय गरेको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनभन्दा बढीको मौसमी गतिविधिको अनुमान गर्दैन। त्यसैले सम्भावित आँधीबारे महाशाखाले अहिले नै आधिकारिक टिप्पणी गरेको छैन।

तर, महाशाखाका मौसमविद् सुवास रिमालले भारतीय मौसम विज्ञान विभाग -आईएमडी) लाई हवाला दिँदै ६/७ दिनपछि आउने आँधीको असर मुलुकको पश्चिम र मध्यभाग हुँदै हिमाली क्षेत्रसम्मै पर्न सक्ने उल्लेख गरे। ‘बिहीबार/शुक्रबारसम्ममा सुदूरपश्चिमका विभिन्न भागमा पछिल्लो चक्रवातको असर देखा पर्न सक्छ,’ पछिल्लो मौसमी गतिविधि औंल्याउँदै रिमालले आइतबार कान्तिपुरसँग भने, ‘तर, अहिले नै हामीले असरबारे बताउन सक्ने अवस्था छैन।’ उनका अनुसार चक्रवातका कारण उत्पन्न मौसमी गतिविधिबाट डडेलधुरा, धनगढी, दिपायल हुँदै मध्यपश्चिमका विभिन्न भागमा वषर्ा हुनेछ भने उच्चभागमा हिमपात हुन सक्ने अनुमान छ।

केही दिनदेखि अरब सागरमा देखिएको मौसमी प्रणालीकै कारण आइतबार पूर्वी भाग हुँदै काठमाडौं र मध्यभागको मौमसमा परिवर्तन देखिएको छ। आकाशमा बादल लागेर धुम्मिएको मात्रै छैन, चिसोसमेत ल्याएको छ। अरब सागरमा देखा परेको प्रणाली भारतको महाराष्ट्र, मध्यप्रदेश, बिहार हुँदै नेपालको तराई भाग हुँदै प्रवेश गरेको रिमालले बताए। ‘मध्यप्रदेश र बिहारमा न्यूनचापीय क्षेत्र विकास भएको र बिहारसँग तराई जोडिएकाले त्यसकै प्रभावस्वरूप हामीकहाँ बदली भएको हो,’ उनको विश्लेषण छ। महाशाखाले केही दिन मौसममा गडबडी हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ। ‘मध्य, पूर्वी र पश्चिम भागका विभिन्न स्थानमा वर्षा हुन सक्छ,’ मौसमविद् रिमालले भने, ‘भारी नै नभए पनि धेरै भागमा छिटफुट वर्षा हुनेछ र चिसो बढ्नेछ।’

महाशाखाका पूर्वप्रमुख वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले अहिले देखिएको मौसमी गतिविधि ‘पोस्ट मनसुनको प्रभाव’ भएको टिप्पणी गरे। पछिल्ला २० वर्षयता मनसुन सकिने अवधि लम्बिएको शाक्यले बताए।

के हो निलोफर?

हालैको समुद्री आँधी ‘हुदहुद’ ओमानले राखेको नाम थियो। सन् १९५३ देखि एटलान्टिक ट्रोपिकल स्ट्रोम र नेसनल हुरिकेन सेन्टरले आँधीको नामकरण गर्न थालेका हुन्। ‘द इन्डिया मेटियोरोलोजिकल डिपार्टमेन्ट’ले आठवटा देशहरू भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, माल्दिभ्स, ओमान, श्रीलंका र थाइल्यान्डलाई चक्रवातको नाम राख्न सल्लाह दिएको थियो। त्यसअनुसार ती देशले आँधीका ६४ नाम प्रस्तुत गरेका थिए। आठैवटा देशले आठ/आठवटा नाम प्रस्तुत गरेका थिए। जतिबेला अरेबियन सागर वा बंगालको खाडीमा आँधी वा चक्रवात आउँछ त्यही सूचीबाट नाम राखिँदै आइएको छ। नाम पनि तीनै आठवटा देशको वर्णानुक्रमअनुसार पालैपालो राखिन्छ। ‘हुदहुद’ पछि यो इलाकामा आउने आँधीको नाम राख्ने पालो पाकिस्तान अर्थात् ‘पी’ को हो। उसले यस क्षेत्रमा आउने आँधीको नाम ‘निलोफर’ तय गरिसकेको छ। त्यसैले अब जहिले आए पनि उक्त आँधीको नाम ‘निलोफर’ रहनेछ। त्यसपछिका पालो आउने ‘एस’ अर्थात् श्रीलंकाले ‘आशोबा’ र ‘टी’ अर्थात् थाइल्यान्डले ‘कोमेन’ नाम प्रस्ताव गरिसकेका छन् ।

कान्तिपुरबाट


  •  
  •  
  •