काठमाडौं, ३० असोज (ओएनएस) : नेपाली चाँड दशैं मनाउन साढे २१ लाख बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु दशैं मनाउन बाहिरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
सबै नेपालीको घरमा दशैंको रौनक भित्रिइसकेको छ । परदेश मात्र होइन स्वदेशका विभिन्न ठाउँमा काम विशेषले रहेकाहरु धमाधम घर फर्किरहेका छन् ।जागिर, अध्ययनलगायत विभिन्न कामका लागि राजधानी भित्रिएकाहरु अधिकांश घर फर्किसकेका छन् भने अब थोरै संख्यामा मात्र बाँकी छन् ।
२ लाख ४५ हजार ४६ वटा सवारीमार्फत ती यात्रु उपत्यकाबाट बाहिरिएको महाशाखाका प्रमुख वसन्त पन्तले बताएका छन् । महाशाखाका अनुसार हालसम्म १ लाख ६२ हजार ९८ वटा टिकटको अग्रिम बुकिङ भएको छ ।