समाचार नछापेको भन्दै पत्रकारलाई प्रवेश निषेध

341
  •  
  •  
  •  

काठमाडौं १३ पुस ।
सदरमुकाम दमौलीस्थित व्यास युवा समाजले शनिबार दमौलीमा आयोजना गरेको सांगीतिक कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ ।

केही दिन पहिले समाजले आयोजना गरेको सरसफाई कार्यक्रमको समाचार प्रकाशन/प्रशारण नगरेको भन्दै मुल गेटबाटै आफुहरुलाई प्रवेशमा रोक लगाईएको पत्रकार महासंघ जिल्ला सचिव उज्जवल पौडेलले बताए । नेपाल फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष नारायण खड्का लगायतका पत्रकारहरु कार्यक्रमस्थलमा पत्रकार परिचय पत्र देखाएर प्रवेश गर्न खोज्दा प्रवेशमा रोक लगाईएको उनले जानकारी दिए ।

‘हामीले सरसफाई कार्यक्रम गर्दा समाचार नदिने,’ प्रवेशद्वारमा रोक्ने युवाको भनाई उद्धृत गर्दै सचिव पौडेलले भने, ‘तर अहिले भने पत्रकार हुँ भन्दै भित्र पस्न खोज्ने ? त्यसैले टिकट नै काटेर भित्र पस्नु होला ।’

फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष खड्काले समाचार नछापेको भन्दै पत्रकारलाई प्रवेशमा रोक लगाईनु निन्दनिय कार्य भएको बताए । यस्ता गतिविधि आगामी दिनमा हुन नहुनेमा उनले जोड दिए ।

‘समाचार नछापेको भन्दै आयोजकले कार्यक्रम स्थलमा पत्रकारलाई प्रवेश गर्न नदिनु पत्रकारिताको उपेक्षा हो,’ खड्काले भने, ‘पत्रकारलाई बदला लिन आयोजकले पुर्व तयारीका साथ कार्यक्रम गरेको हुनु पर्छ । अन्यथा गेटमा पास चेक गर्नेले किन हामीलाई रोक लगाउथें ।’
कान्तिपुरबाट


  •  
  •  
  •