सरकार स्पष्टिकरणको तयारीमा, बेलायती राजदुत विदामा

246
  •  
  •  
  •  

b9aa268a4b67acb3fd2a181214a537c9_Lकाठमाडौं २९ मंसिर (ओएनएस) :
कूटनीतिक मर्यादाविपरीत धर्म परिवर्तनको वकालत गरेकोमा परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिने तयारी गरेसँगै बेलायती राजदूत एन्डी पार्क विदा बसेका छन् । उनी आफ्नो नियमित तालिकाअनुसार विदा मनाउन बेलायत जान लागेको दूतावास स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘विदामा बसेको बेला दूतावासका कुनै पनि कर्मचारी कार्यालयको केही काम गर्दैनन् । ईमेल पनि निष्क्रिय हुन्छ ।’

नयाँ बर्ष मनाउने कारण जनाउँदै उनी विदामा बसेका हुन् । १७ दिनजति उनी अनुपस्थित हुने दुतावास स्रोतले जानकारी दिएको छ । पार्कले मानव अधिकार दिवसको दिन नेपालका संविधानसभा सदस्यहरूलाई सम्बोधन गरी संविधानमा धर्म परिवर्तनको प्रावधान राख्न आग्रह गर्दै खुलापत्र लेखेका थिए । यो उनको व्यक्तिगत आग्रह हो वा पदीय हैसियतमा यस्तो गरेको भन्ने जिज्ञासामा दूतावासका एक वरिष्ठ अधिकारीले ओएनएससँग भने, ‘पदमा बसिसकेपछि हामीकहाँ प्रायः व्यक्तिगत भन्ने हुँदैन । फेरि लेखेरै जानाजान महत्वपूर्ण अवसर पारेर दिएको सन्देश व्यक्तिगत हुन सक्दैन ।’

ती अधिकारीका अनुसार, धर्म परिवर्तन गर्न पाउनुपर्ने प्रावधान राख्न आग्रह गर्नु बेलायती मात्र होइन, सिंगो युरोपेली युनियनका सदस्यहरुका लागि नयाँ कुरा होइन । यसअघि युरोपेली युनियनकै लेटरप्याडमा पनि परराष्ट्र मन्त्रालयलाई यस्तै आग्रह गरी पत्र पठाइएको थियो ।

बेलायती राजदूतले पछिल्लो खुलापत्र लेख्नुअघि पनि युरोपेली युनियनका सदस्य मुलुकहरूबीच सल्लाह भएको थियो । ओएनएसको सम्पर्कमा आएका ती अधिकारी भन्छन्, ‘नेपालमा यो एजेन्डा विवादित हुन्छ भन्ने थाहा छ । यति थाहा पाएरै सुनियोजित रुपमै खुलापत्र लेखिएको हो ।’ उनले परराष्ट्र मन्त्रालयले थप विवरण मागे यसबारे विस्तृत जानकारी दिन आफूहरुलाई झन् सजिलो हुने बताए । राजदुतले आइतबार नै विदामा बसेको जानकारी परराष्ट्र मन्त्रालयमा गराएपनि परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले भने सोमबार स्कपष्टिकरण लिने बताइरहेका छन् ।


  •  
  •  
  •