राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएकाे रकम माग्याे फिर्ता

513
  •  
  •  
  •  

काठमाडौं, ७ कार्तिक (ओएनएस) : २०७२ सालमा अाएकाे विनाशकारी भूकम्पले पीडित पर्वतका भूकम्प पीडितहरुसँग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सहयाेग स्वरुप दिएकाे रकम फिर्ता मागेकाे छ।

भूकम्पले क्षति पुगेकाे भन्दै लाभग्राहीको सूचीमा परेर पनि पहिलो किस्ता रकम लगेर घर नबनाएकाहरुलाई रकम फिर्ता लिन प्राधिकरणले ताकेता समेत गरेकाे हाे। भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ४०० घर मात्र निर्माण भएका छन् ।

अहिलेसम्म पनि घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएकाे राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतले जनाएकाे छ।

घर निर्माण गरिसकेका एक हजार ४०० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम समेत बुझिसकेका छन् । पहिलो किस्ताको रकम लगेका तीन हजार ४०० नौ जनाले अहिले पनि घर निर्माण गरेका छैनन् ।

आयोजना कार्यान्वयन इकाइ पर्वतका अनुसार पूर्ण क्षतिमा परेका लाभग्राहीमध्ये हालसम्म चार हजार ८०९ जनाले पहिलो किस्ताबापतको रकम रु ५० हजार बुझिसकेका छन् भने ४६० जनाले पहिलो किस्ताको रकम समेत बुझेका छैनन् ।

लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम रु २४ करोड चार लाख ५० हजार भुक्तानी गरिसकिएको छ भने दोस्रो किस्ताबापतको रकम रु २१ करोड घर बनाएकाले भुक्तानी दिइएकाे आयोजना कार्यान्वयन इकाई प्रमुख जगदीश शर्माले बताए।


  •  
  •  
  •