धाँमीको पेटमा ४ वटा घण्टको रालो

612
  •  
  •  
  •  

विनोद शर्मा
जुम्ला २० भदौ (ओएनएस) : जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एकजना धाँमीको पेटबाट १० देखि १५ सेन्टिमिटर लामा ४ वटा घण्टाको रालो निकालेको छ । महावैपाथर खोला गाविस वडा नम्बर १ का ४७ वर्षीय जनकबहादुर शाहीको पेटबाट घण्टाको रालो शल्यक्रिया गरी निकालेको हो ।

देउता आएको बेला निलेका ४ वटा रालो साँढे २ घण्टा लामो शल्यक्रियाबाट निकाल्न सफल भएको मेडिकल डाइरेक्टर निरेश थापाले बताए । बिहीबार साँझ ६ बजे उपचारका लागि आएका शाहीको पेटमा एक्सरे गरेर हेर्दा फलामको टुक्रा देखेपछि शल्यक्रिया गरेर निकालिएको हो ।
चारवटै रालो शल्यक्रियाका लागि प्रयोग गरिने चक्कुभन्दा लामा छन् । दुई वटा रालोले ठूलो आन्द्रा छेडेर बाहिर निस्किएको अवस्थामा भेटिएको डाक्टर थापाले बताए ।

अहिले बिरामी खतरामुक्त रहेको र आन्द्रा समेत काटेर जोड्नु परेकोले बिरामीलाई खाना खान नदिइएको उनका भनाई छ । बिरामी शाहीले भने देउता आएको बेलामा अहिलेसम्म पटक पटक गरि ३ सय ५ वटा रालो खाइसकेको बताए ।  अरु रालो देउताले पचाएको तर चार वटा भने पचाउन नसकेको उनले दाबी गरे ।

२ महिना अघि निलेको रालोले ४ दिनदेखि पेट दुखाउने, ज्वरो आउने तथा बान्ता समेत गराएपछि उपचारका लागि प्रतिष्ठान आएको शाहीले बताए । अन्य धाँमी झाँक्रीले पनि देउताको भान आएका बेला घण्टाको रालो खाने गरेको धामी शाहीको भनाई छ ।

धाँमी झाँक्री भन्ने धोका रहेछ भन्ने बुझेकोले अब देउता बोलाउने काम कहिल्यै नगर्ने र अरुलाई पनि घण्टाको रालो नखान सल्लाह दिने उनले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामैं जटिल किसिमका शल्यक्रिया हुने भएकोले बाहिर जानु पर्ने बाध्यता बिस्तारै हटेको छ ।


  •  
  •  
  •