प्रकाश कम उमेरमै पूर्ण जीवन विताउने कुशल योद्धा : अध्यक्ष प्रचण्ड

407
  •  
  •  
  •  

काठमाडौँ— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. प्रकाश दाहाल छोटो समयमा पूर्ण जीवन बिताएर जाने एक कुशल योद्धा र व्यवस्थापक भएको बताएका छन्।

प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ कार्यक्रममा प्रचण्डले प्रकाश एक असल सिपाही रहेको र एक होनाहार सिपाई गुमाउनुको पीडालाई शक्तिमा बदल्ने प्रयत्न भइरहेकाे बताए।  प्रचण्ड पुत्र प्रकाशकाे ३६ वर्षकाे उमेरमा निधन भएकाे थियाे।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सामान्य काम सबैले गर्ने भन्दै विशेष काम थोरैले मात्र गर्ने र त्यसमध्ये एक प्रकाश दाहाल भएको बताए।  काँग्रेस नेता डा. प्रकाश शरण महतले प्रकाश दाहालले शान्ति प्रक्रियापछि विभिन्न राजनीतिक दल र तत्कालिन माओवादी केन्द्रबीच पुलको रुपमा काम गरेको सम्झए।

त्यस्तै राजपाका नेता महेन्द्र यादवले प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताए।  प्रतिष्ठानकी संयोजक एवं खानेपानी मन्त्री बिना मगरले सगरमाथा चढ्दा जुनेली रातमा एउटा डोरीमा मृत्युसँग जुध्दै सगरमाथाको यात्रा तय गरेको स्मरण गरिन।

पाँच जनालाई सगरमाथा साहसिक सम्मान प्रदान

यसैबीच प्रतिष्ठानले कार्यक्रममा सगरमाथा आरोहणको सिलसिलमा योगदान पु¥याएका पाँच व्यक्तिहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरेको छ । त्यस्तै कार्यक्रममा जनयुद्धका केही घाइतेलाई समेत आर्थिक सहयोग प्रदान गरियो ।

साहसिक सगरमाथा सम्मान पाउनेहरुको सूचीमा सगरमाथा आरोहीका लागि बाटो बनाइदिनेदेखि सरकारी कर्मचारी र कोरियन नागरिकसमेत छन् । सगरमाथा चढ्ने बाटो बनाउने आइसफल डाक्टर को नामले परिचित आङसार्की शेर्पा, आरोही छिरिङ थुन्दु शेर्पा, विश्वको सर्वोच्च शिखर सगरमाथादेखि दोस्रो अग्लो चुचुरो माउन्ट केटु चढ्ने पहिलो नेपाली महिला माया शेर्पा, नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठ र कोरियन नागरिक युम होङ गिललाई सम्मान गरिएको थियो ।

कोरियन नागरिक गिलले विश्वका ८ हजारभन्दा माथिका १४ वटा हिमाल आरोहण गरिसकेका छन् । उनले २० करोडको लगानीमा नेपालमा आरोहणसम्बन्धी पढाइ हुने माउन्टेन स्कुल सञ्चालन गर्दैछन् । यसैगरी शाखा अधिकृत श्रेष्ठले सगरमाथा बेस क्याम्पमा स्थापना गरिएको सहायता कक्षमा १२ वर्षसम्म सेवा गरेका छन् ।


  •  
  •  
  •