आईजीपी खनालको हस्ताक्षर कीर्ते गरी नियुक्त पत्र दिने पक्राउ

567
  •  
  •  
  •  

काठमाडौं,१२ मंसिर (अाेएनएस) : पर्सामा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको हस्ताक्षर कीर्ते गरी नक्कली नियुक्त पत्र दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली नियुक्त पत्रकाे सहाराले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै लाखाै रुपैयाँ ठगेकाे अाराेपमा धोविनी गाउँपालिका ३ हरिहरपुर घर भई हाल वीरगञ्ज महानगरपालिका १३ मा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष कुमार पाण्डेय (आलोक) लाई प्रहरीले पक्राउ गरेको हो ।

उनले राष्ट्रिय अनुसन्धानको प्रहरी जवान र प्रहरी सहायक निरीक्षक पदमा योग्यता अनुसारको जागिर लगाइदिने भनी विभिन्न व्यक्तिलाई विश्वासमा पारेर ७ लाख २० हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पाण्डेयले किर्ते लिखत कागज तयार गरी आईजीपी खनालको नाम सहितको दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत उनीहरुलाई दिएका थिए । प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार पाण्डेयविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।


  •  
  •  
  •