काठमाडौं, ९ कार्तिक (ओएनएस) : १७ वटा जिल्लामा सहसचिव तहका प्रमुख जिल्ला अधिकारी (सीडीअाे)को ठाउँमा उपसचिवलाई जिम्मेवारी दिन लागिएकाे छ । गृह मन्त्रालयले यस प्रक्रियालार्इ अागाडी बढाउन जाेडताेडका साथ गृहकार्यमा जुटेकाे छ। गृह मन्त्रालयका अनुसार सहसचिव दरबन्दी भएका जिल्लामा केही समयका लागि मात्र उपसचिवलाई सिडिओको जिम्मेवारी दिन लागिएकाे हाे।
‘दरबन्दी घटुवा गरेको होइन, सहसचिवकै कायम छ,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले भने, ‘सहसचिव अभाव हुँदा उपसचिवलाई सिडिओ बनाउनु परेको हो ।’ उनले थप्दै भने,’ कायममुकायम सिडिओ ६ महिनाभन्दा बढी राख्न मिल्दैन । त्यसैले उपसचिवलाई नै सिडिओको जिम्मेवारी दिनु परेको हो, पछि सहसचिव नै पठाइन्छ ।’
अहिले कायममुकायम सिडिओ रहेकालाई नै सिडिओको जिम्मेवारी दिने तयारी गृहले गरेकाे छ।संघीय सरकारकाे मन्त्रिपरिषद बैठकले पनि सहसचिव प्रजिअ रहने १७ जिल्लामा उपसचिव सिडिओ खटाउने निर्णय एक महिनाअघि गरेको थियो ।
गुल्मी, बर्दिया, डोटी, बारा, तनहुँ, नवलपरासी, नवलपुर, स्याङ्जा, बाग्लुङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक,सिरहा, धनुषा, महोत्तरी, सप्तरी र इलाममा उपसचिवलाई सिडिओको जिम्मेवारी दिएको हो ।