काठमाडाैं, १३ कात्तिक (अाेएनएस) : सर्लाहीमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा एककाे मृत्यु भएकाे छ ।
रामनगर गाउँपालिका ४ मा आज बिहान ने क पा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हाे। झडपका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता राम विलास महतोको मृत्यु भएको हो।
गोली लागेर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी पोषराज पोखरेलले बताए। उनका अनुसार अन्य केही गोली लागेर घाइते भएका छन्।
ने क पाका कार्यकर्ताले चलाएको गोली लागी अन्दानी ६५ वर्षीय महतोको घटनास्थल मै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। झडप के कारणले भएकाे यथेष्ठ रुपमा अहिले सम्म केही खुल्न सकेकाे छैन।
घाइते लिन गएको एम्बुलेन्समा समेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको थियाे।
सोमबार बिहान सोही नगरपालिका–४ बाट निर्वाचित वडा अध्यक्ष राम नरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपीट गरेपछि झगडा शुरु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए।
नेकपाका कार्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन् । त्यस स्थानमा केही बेरअघि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप प्रहरी पठाइएको जनाइएको छ ।