काठमाडौं,१२ कार्तिक (एजेन्सी) : इन्डोनेसियाकाे एक जहाज समुद्रमा खसेको समाचार सार्वजनिक भएकाे छ । एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटनामा परेकाे बिमान कम्पनीले जनाएकाे छ।
जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए । इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए ।
जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ ।
लायन एयरर्सको जेटी-६१० बिमान पाङकल पिनाङका लागि उडेको थियो । टेक अफ गरेको १३ मिनेटपछि सो जहाज एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो । दुर्घटना हुनुअघि पाइलटले जहाजलाई बिमानस्थलमा फर्काउने प्रयास गरेको देखिएको छ । ‘कोही जिवित छन् कि छैनन् भन्ने हामीले पत्ता लगाउन सकेका छैनौं,’ बिमान कम्पनीले पत्रकार सम्मेलन आयोजना गरेर भनेको छ, ‘प्रार्थना र आशा भने हामीले गरिरहेका छौं ।’