जुम्लामा यस वर्षको दशैंमा पनि खाद्यान्न अभाव नहुने

139
  •  
  •  
  •  

जुम्ला, १० असोज (ओएनएस) : जुम्लामा यस वर्षको दशैंमा पनि खाद्यान्न अभाव नहुने भएको छ । बिगत केहि वर्षदेखि नेपाल खाद्य संस्थान जुम्ला शाखाले प्रशस्त चामल मौज्दात राख्ने गरेको छ ।

अहिले खाद्य संस्थानमा ४ हजार ५ सय ७६ क्विन्टल चामल मौज्दात रहेको कार्यालय प्रमुख रणबहादुर बुढाथोकीले जानकारी दिए । यस आर्थिक वर्षको पहिलो दुई महिनामा १ हजार ३ सय २५ क्विन्टल चामल बिक्री भएर ४ हजार ५ सय ७६ क्विन्टल मौजदात रहेको उनको भनाइ छ । सर्वसाधारणले १ हजार ३ सय १० क्विन्टल खरिद गरेको र नमुना कारागार कार्यालय जुम्लालाई १५ क्विन्टल बिक्री गरिएको उनले बताए । अघिल्लो वर्षको मौज्दात चामल बिक्री भैरहेको बताउँदै उनले यसवर्षका लागि चामल ढुवानी गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।

खाद्य संस्थान बाहेक व्यापारीहरुले पनि विभिन्न प्रकारका चामल ल्याएर बिक्री गरिरहेको र जिल्लाका गाउँगाउँमा चामलका बोरा पुगेको खाद्य संस्थान शाखा जुम्लाले जनाएको छ । आवश्यकता अनुसार मुगु र डोल्पा समेत चामल पठाउने गरिएको शाखा प्रमुख रण बहादुर बुढाथोकीले बताए । यसैबीच, जुम्लामा आयोडिनयुक्त नुनको पनि अभाव नहुने भएको छ । शाल्ट ट्रेडिङ कर्पोरेशन उपशाखा जुम्लामा ३ हजार ९ सय १० क्विन्टल नुन मौज्दात रहेको शाखा प्रमुख मुनदत्त बुढाले जानकारी दिए ।


  •  
  •  
  •