वैद्यको कारबाही सूचीमा को–को ?

54
  •  
  •  
  •  

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीभित्र गुटबन्दीले चरम रूप लिएको छ । गुटको आधारमा एकथरीले नेतालाई कारबाही गर्ने र अर्काथरीले चुनौती दिने जुहारी चलिरहेका बेला संस्थापन समूहले अब कारबाही गर्नुपर्ने नेताहरूको सूची तयार पारिरहेको बुझिएको छ । संस्थापन समूहको भन्दा फरक विचारको नेतृत्व गरेका सचिव नेत्रविक्रम चन्द (विप्लव) पक्षका नेता–कार्यकर्तालाई क्रमश: अनुशासनको डन्डा चलाउनुपर्ने भन्दै ती व्यक्तिको सूची तयार पारिएको स्रोतले बतायो । स्रोतका अनुसार, संस्थापन समूहले पहिलो चरणमा कारबाहीको सूचीमा राखेका नेताहरूमा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुन र चितवन इन्चार्ज गुणराज लोहनी छन् ।

पुन पहिलेदेखि नै चन्दनिकट हुन् भने लोहनी पहिले वैद्य समूहमा भए पनि अहिले सो समूहबाट टाढिँदै गएका छन् । केन्द्रीय सदस्य पुनलाई वाईसीएलको मुखपत्र अंग्रेजी पत्रिका जनस्वयम्सेवकमा र लोहनीलाई समर प्रतीक पत्रिकामा लेखेको लेखलाई कारण बनाएर कारबाही गर्ने तयारी भएको बताइन्छ । स्रोतका अनुसार यो बीचमा अर्का केन्द्रीय सदस्य अनिल शर्मा विरहीमाथिको कारबाहीको विज्ञप्ति प्रकरण सुरु नभएको भए पुन र लोहनीमाथि कारबाही भइसक्थ्यो ।

चन्दनिकट पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा, केन्द्रीय सदस्यहरू डा. ऋषिराज बराल, माइला लामा, धनबहादुर मल्ल, ईश्वरी दाहाल, मजदुर नेता रामदीप आचार्यलगायतलाई दोस्रो चरणमा कारबाहीको प्रक्रिया अगाडि बढाउने संस्थापनको तयारी भएको बताइन्छ । बरालले ‘द नेस्ट फ्रन्ट’ अनलाइनमा लेखेको लेखका आधारमा उनलाई स्पष्टीकरण सोध्ने पटक–पटक प्रयास भए पनि अहिलेसम्म सोधिएको छैन । विश्वकर्मालाई त स्पष्टीकरण सोधिसकिएको छ । पछिल्लो समयमा विरहीलाई स्पष्टीकरणसमेत नसोधी कारबाही गरिएको विज्ञप्ति महासचिव रामबहादुर थापा बादलले जारी गरेपछि चन्द समूह पनि मौन बसेको छैन ।

सोमबार छुट्टै विज्ञप्ति जारी गरेर उक्त कारबाही पार्टीको विधि र पद्घतिविपरीत भएकाले आफूहरूले नमान्ने उल्लेख गरेका छन् । पार्टी फुटाउने तयारी संस्थापन समूहले विस्तारै पार्टी फुटाउने तयारी गरिरहेको आरोप चन्द समूहले लगाएको छ । सो समूहका नेता बरालले भने– ‘पार्टीलाई फुटको दिशामा लैजाने तयारी भइरहेको छ, पार्टीभित्र जो हिजोदेखि सरकारमा जाने, संविधानसभामा भाग लिने मानसिकतामा थिए, उनीहरूले पार्टीलाई फुटाउन चाहिरहेका छन् ।’

पार्टी फुटाएर प्रचण्डसँग एकता गर्ने, ‘फेस सेभिङ’का लागि गोलमेच गर्ने, फेरि पनि संविधान बन्न नदिने र अर्को पटक फेरि आफू ठूलो पार्टी भएर संविधान निर्माण गर्ने रोडम्याप लिएर हिँडेको बताइन्छ । स्रोतका अनुसार, वैद्य समूहले आफंैले पार्टी विभाजन गर्नेभन्दा पनि चन्द आफंै अलग भइदिए हुन्थ्यो भन्ने चाहना राखेको छ । प्रचण्ड र वैद्यको चाहना उस्तै त्यसो त एमाओवादीभित्रको अवस्था वैद्य माओवादीमा भन्दा झन् दर्दनाक छ ।

वैद्यले चन्द आफंै अलग भइदिए हुन्थ्यो भन्ने चाहना राखेझैं एमाओवादीमा पनि अध्यक्ष पुष्पकमल दाहालले नेता भट्टराई आफंै अलग भइदिए हुन्थ्यो भन्ने चाहना राखेको स्रोतको दाबी छ । पार्टी एकताका लागि छलफल गरिरहेका दाहाल र वैद्यका कार्यकर्ताले एउटै मञ्चमा संयुक्त कार्यक्रम गर्न सुरु पनि गरेका छन् । सोमबार गोरखामा सुरेश वाग्लेको स्मृतिमा आयोजित कार्यक्रमलाई दाहाल र वैद्यका कार्यकर्ताले संयुक्त बनाए भने त्यहाँ भट्टराई र विप्लवका कार्यकर्ताले उपस्थिति जनाएनन् ।

इबुधवारबाट


  •  
  •  
  •