क्वाटरफाइनल समिकरण पुरा, सेमिफाइनलमा क-कसको भीडन्त ?

279
  •  
  •  
  •  

ICC-Cricket-World-Cup-2015काठमाडौ, ७ चैत(ओएनएस) : विश्वकप अन्तरगत शनिबारको अन्तिम क्वाटरफाइनल खेलमा न्युजिल्याण्डले वेष्ट इण्डिजलाई पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त खेलसँगै विश्वकपमा क्वाटरफाइनल खेलका सम्पूर्ण खेलहरू सकिएका छन् भने अन्तिम चारमा पुगेका टोलीहरूको टुंगो लागिसकेको छ ।

अन्तिम चारमा अष्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र न्युजिल्याण्ड पुगेका छन् । सेमिफाइनलका खेलहरू आगामी २४ मार्च र मार्च २६ मा हुनेछन् । पहिलो सेमिफाइनल खेल अकल्याण्डको इडन पार्कमा मार्च २४ मा दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल सिड्नी क्रिकेट ग्राउण्डमा मार्च २६ मा अष्ट्रेलिया र भारतबीच हुनेछ । सेमिफाइनलका विजेताहरू मेलबर्न क्रिकेट मैदानमा उपाधीका लागि मार्च २९ मा भिड्नेछन् ।

new zeeland cricket teamक्वाटरफाइनलको समिकरण पुरा गर्ने क्रममा न्यजिल्याण्डले वेष्ट इण्डिजलाई १ सय ४३ रनले पराजित गरेको छ । ३ सय ९४ रनको विशाल लक्ष्य पछ्याएको वेष्ट इण्डिजले मात्र ३० ओभर ३ बल खेल्दै मात्र २ सय ५० रन जोड्न सफल भएपछि खेल न्युजिल्याण्डले जितेको हो । वेष्ट इण्डिजका लागि क्रिस गेलले सर्वाधिक ६१ रन जोड्नुबाहेक अन्य ब्याटस्म्यानले अर्धशतकीय पारी खेल्न सकेनन् । उसका लागि कप्तान जेसन होल्डरले ४२ रन, कार्टरले ३२ रन, मार्लोन स्यामुअल्स र डारेन सामीले समान २७-२७ रन जोडेका थिए ।

वेष्ट इण्डिजलाई उक्त स्कोरमा समेट्नका लागि ट्रेन्ट बोल्टले ४ विकेट लिएका थिए भने डेनियल भिटोरी र टिम साउदीले समान २-२ विकेट र कोरी एण्डरसन र एडम मिल्नेले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै वेष्ट इण्डिजलाई ३ सय ९४ रनको विशाल विजय लक्ष्य प्रस्तुत गरेको थियो । वेलिङ्टनमा वेष्ट प्याक स्टेडियममा भएको खेलमा मार्टिन गुप्टिलले विश्वकपमा नयाँ कीर्तिमान बनाउने क्रममा २ सय ३७ रनको उत्कृष्ट पारी खेलेपछि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ९३ रन जोड्न सफल भएको थियो । उनी एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पाँचौ ब्याटस्म्यान बनेका छन्  भने विश्वकपमा दोस्रो ब्याटस्म्यान । उनी अघि विश्वकपमा क्रिस गेलले जिम्बाब्बेविरूद्ध दोहोरो शतक प्रहार गरेका थिए ।

गुप्टिलले १ सय ६३ बलको सामना गर्दै २४ चौका र ११ छक्काको मद्धतले २ सय ३७ रन जोडेका हुन् । यस्तै, रसद टेलरले ४२ रन, केन विलियमसनले ३३ रन, ग्रान्ट इलियटले २७ रन जोडेका थिए । यता वेष्ट इण्डिजका तर्फबाट जेरोम टेलरले ३ विकेट लिए भने आन्द्रे रसेलले २ विकेट लिए ।

यस खेलमा अर्को एक कीर्तिमान समेत बनेको छ । विश्वकपमा सर्वाधिक छक्काको रेकर्ड समेत यस खेलमा बनेको छ । आजको खेलमा न्युजिल्याण्डले १५ छक्का र वेष्ट इण्डिजले १६ छक्का प्रहार गरेपछि खेल अवधिभर ३१ छक्का भएपछि यस्तो रेकर्ड बनेको हो ।

खेलको म्यान अफ दी म्याच २ सय ३७ रनको कीर्तिमानी पारी खेलेका मार्टिन गुप्टिल घोषित भएका छन् ।


  •  
  •  
  •