वैशाख १ को अर्थ र इतिहाँस

491
  •  
  •  
  •  

काठमाडौं १ वैशाख ।
वैशाख १ लाई विशेष दिन मान्न लागेको २०७२ वर्ष मात्रै हुँदै छैन। विक्रम संवत्को प्रवर्द्धन हुनुभन्दा अगाडिदेखि नै यस दिनलाई महत्व दिइन्थ्यो। सूर्यको चक्रमा आधारित यो दिनको खास अर्थ छ।

सौरमास र चन्द्रमास गरी दुई प्रकारका महिना हुन्छन्। सौरमास भनेको गते हो। सूर्यले एउटाबाट अर्को राशिमा संक्रमण गर्ने भएकाले महिनाको पहिलो दिनलाई संक्रान्ति भनियो। औँसी, पूर्णे, परेवा, द्वितीया भनेको चन्द्रमास हो। वैशाख १ गते सौरमास अनुसारको नयाँ साल सुरु हुन्छ। चन्द्रमासअनुसार त चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्ष सुरु भइहाल्छ।

ज्योतिषशास्त्रका अनुसार यस दिनको महत्व यस्तो छ। आकाशका तारा, राशि, नक्षत्र, ग्रह खगोल हुन् भने भूगोल भनेको पृथ्वी र यहाँको जीव, जनावर, प्रकृति हुन्। भूगोलमाथि खगोलको प्रत्यक्ष प्रभाव हुन्छ।

आकाशमा असंख्य तारा छन्। जसमध्ये २७ वटा तारा महत्वपूर्ण हुन्छन्। तिनलाई नक्षत्र भनिन्छ। नक्षत्र आ–आफ्ना आकृतिसहित समूहमा हुन्छन्। भेडाजस्तो देखिने पहिलो समूह मेष हो। गोरुजस्तो देखिने वृष। केटाकेटीको जोडा जस्तो मिथुन। यस्तै–यस्तै। तारा, नक्षत्र र राशिका अलावा अरू पिण्ड पनि छन्। त्यसलाई ग्रह भनियो। ग्रहहरू प्रत्येक राशि–राशि तथा नक्षत्रमा घुम्छन्। यसलाई अंग्रेजीमा ‘अर्बिट’ भनिन्छ। संस्कृतमा कान्तिवृत्त भनियो। ग्रह घुम्ने बाटो हो यो।

यसमा सबभन्दा ज्यादा महत्व चाहिँ सूर्यको हुन्छ। ग्रह, नक्षत्र, तारालाई सौर्यमण्डल भनिन्छ। सौर्यमण्डलको अधिपति सूर्य हो। र, सूर्यले एउटा राशिबाट अर्को राशिमा संक्रमण गर्ने वा सर्ने दिनलाई संक्रान्ति भनियो। ग्रहको पनि राशि हुन्छ। यसलाई सो राशि भनिन्छ। मित्र, शत्रु, उच्च, नीच राशि। वैशाख १ गतेदेखि सूर्यले मीन राशीबाट मेष राशिमा संक्रमण गर्छ। यसकारण यो १ गतेलाई मेष संक्रान्ति पनि भनियो। वैशाख १ गते भनेको चन्द्रमा महिनामा एकपटक नक्षत्रको नजिकमा गएर आफ्नो सोह्र कलाले पूर्ण हुनु हो। चन्द्रमा सोह्र कलाले पूर्ण भएको हुनाले पूर्णिमा भनियो। शुक्ल पक्षमा चन्द्रमाको कला बढ्दै–बढ्दै गएर पूर्णिमाको दिनमा पूर्ण हुन्छ। कृष्णपक्षमा घट्दै–घट्दै औँसीको दिनमा रित्तो हुन्छ।

चन्द्रमा जुन नक्षत्रको नजिक गएर सोह्र कलाले पूर्ण हुन्छ, त्यो नक्षत्रको नामबाट पूर्णिमाको नाम रहन्छ। जस्तो, वैशाख महिनामा वैशाख पूर्णिमा। एउटा भ्रम छ। वैशाखमा पर्ने भएकाले यो पूर्णिमाको नाम वैशाख रह्यो। होइन। २७ मध्ये एउटा नक्षत्रको नाम विशाखा हो। विशाखा नक्षत्रको नजिकमा गएर चन्द्रमा सोह्र कलामा पूर्ण हुने भएकाले वैशाख शुक्ल पूर्णिमा भनियो। मास भनेको महिना भन्ठान्छौँ। तर, मास भनेको चन्द्रमा पनि हो। यही वैशाख शुक्ल पूर्णिमाबाट वैशाख नाम रह्यो। वैशाख संक्रान्ति पनि भनियो यो १ गतेलाई। मेष संक्रान्ति पनि भनिन्छ।

सूर्यको राशि सिंह हो। सिंहबाट गन्दै जाँदा मेष नवौँमा पर्छ। ग्रहको राजा सूर्य मेष राशिमा उच्च हुन्छ। तुला राशिमा नीच हुन्छ। उच्च भएर बस्ने भएकाले वैशाख १ गते महत्वपूर्ण मानियो।

अर्को कुरा, १२ महिनामा १२ संक्रान्ति हुन्छन्। यसमा चारवटाको महत्व रहन्छ। मकर संक्रान्ति अर्थात् माघे संक्रान्ति। यस दिनबाट सूर्य दक्षिणबाट उत्तरतिर फर्किन्छ। यसलाई उत्तरायण भनियो। कर्कट संक्रान्ति अर्थात् साउने संक्रान्तिबाट सूर्य उत्तरबाट दक्षिणतिर लाग्छ। जसलाई दक्षिणायन भनिन्छ। कात्तिकको तुला संक्रान्तिमा सूर्यले भूमध्यरेखा अर्थात् विशुवत रेखालाई पार गरेर दक्षिणी गोलार्द्धतिर प्रवेश गर्छ। यो त अधोगति भयो। त्यसैले दक्षिणायनलाई राम्रो मानिँदैन। वैशाख संक्रान्तिमा सूर्य भूमध्यरेखा पार गरेर उत्तरतिर लाग्छ। ग्रहमध्येको राजा सूर्य मेष राशिमा उच्च भएर बस्ने तथा उत्तरायणमा प्रवेश गर्ने भएकाले यो दिनलाई शुभ ठानिएको हो।

महत्व नदिनु दुःखद
यो दिन उल्लासमय बन्नुपर्छ। पुरानो वर्षको समीक्षा गरेर नयाँ वर्षमा नयाँ संकल्पका साथ अघि बढ्ने गुरुयोजना बन्नुपर्छ हरेक व्यक्तिमा। यस दिनले शरीरमा ऊर्जा ल्याउनुपर्छ। सूर्योदयले सृष्टिको शुभारम्भ गर्ने हो। हरेक दिनको सूर्योदय आफैँमा शुभ हुन्छ। अझ यो दिनको सूर्योदयले त विशेष महत्व राख्छ।

वैशाख १ लाई विशेष महत्व नदिनुका चार कारण छन्। सर्वसाधारणले यस दिनको महत्व बुझ्न नसक्नु। प्राज्ञिक व्यक्तिले पर्वको महत्व बुझाउन नसक्नु। सञ्चारमाध्यमले पनि महत्व सम्प्रेषण गर्न नसक्नु। पश्चिमी संस्कृतिको प्रभाव बढ्दै जानु।

अहिले त वैशाख १ मात्र नभई नेपाली संस्कार, संस्कृति नै लोपोन्मुख अवस्थामा छ। केही त लोप पनि भइसके।

नेपाली संस्कृतिमा वैशाख १
नेपाल मण्डलमा मनाइने घोडेजात्रा चन्द्रमास अनुसारको नयाँ वर्षको उल्लास हो। सौरमास अनुसारको नयाँ वर्षको उल्लासमा भक्तपुरमा बिस्केट जात्रा मनाइन्छ। चैत्र मसान्तको दिनमा लिंगो ठड्याइन्छ। विश्वकेतु अर्थात् विश्वध्वज भनिने झण्डासहितको यो लिंगो वैशाख १ गते ढालिन्छ। यसको केही दिनअघिदेखि नै भक्तपुरमै भैरव र भद्रकालीको रथयात्रा सुरु हुन्छ। रथयात्रा सुरु भएपछि बिस्केट जात्रा सुरु भयो। लिंगो त चैत्र मसान्तमा ठड्याएर वैशाख १ मा ढालियो। लिंगो ढाल्दैमा बिस्केट जात्रा सकिँदैन। भैरव र भद्रकालीको लिंगोलाई जुधाएपछि मात्र सम्पन्न हुने हो यो जात्रा।

भैरव र भद्रकालीको रथलाई कामकलाको दृष्टिबाट एकआपसमा जुधाइन्छ। किन कामकला? कामकलाले ‘क्रिएसन अफ न्यू युनिभर्स’ सम्भव हुन्छ। नयाँ विश्वको सिर्जना र विश्वमा सुखशान्तिका लागि यसो गरिएको हो।

संक्रान्तिमा विभिन्न तीर्थमा गएर नुहाइधुहाइ गरेमा पवित्र भएको विश्वास गरिन्छ। विशेषगरी वैशाख १ गते काठमाडौँको टोखास्थित सपनतीर्थमा स्नान गरिन्छ। किन? हामी गणित त जान्दैनौँ। तर, वैशाख १ गतेको दिनमा सूर्यको किरण वर्षभरिकै उत्तम डिग्रीमा यहाँ परेको हुन्छ। यसअनुसार यहाँको जल पवित्र मानिएको हो। टोखाको यो सपनतीर्थ शिवपुरीको गर्भ रसाएर आएको जल हो। ‘मिनरल वाटर’ यही हो। अमूल्य खनिज तथा वन–बुट्यानका रस मिसिएर आएको पानी। वैशाख १ को सूर्योदयका बेला यहाँको जलले स्नान गर्दा कुष्ठरोगसमेत निको हुने विश्वास छ। उता, मातातीर्थमा चन्द्रागिरीको तथा गोदावरीमा फूलचोकीको गर्भ रसाएर आएको जल पनि पवित्र मानिन्छ।

विक्रम संवत्को यही नयाँ वर्षकै उल्लासमा सुदूरपश्चिममा देवर–भाउजूबीच सिस्नुपानी लगाएर धुमधाम साथ विशु पर्व मनाइन्छ। पर्वकै अवसरमा विदेश गएकाहरू घर फर्कने, छोरीचेली माइती जाने, नया” लुगा लगाउने, नया” अन्न खाने गरिन्छ। देवर–भाउजू र साली–भिनाजुबीच यस पर्वमा एकअर्कालाई सिस्नु लगाएर रमाइलो गर्ने चलन छ। यस दिन सिस्नु लगाएमा वर्षभर रोगव्याधि नलाग्ने विश्वास यहा”को समाजमा विद्यमान छ। यसै अवसरमा घर निर्माण, नया” व्यापार–व्यवसाय सुरुवात जस्ता काम गर्नु शुभ ठानिन्छ।

यस्तै, सप्तरीको चन्द्रभागा मेला। जहाँ वैशाख १ गते तीर्थस्नान गरिन्छ। यस्तै, सिराहामा मनाइने सलहेश फूलबारी जात्रा भव्य हुन्छ यस दिन। सधँै चैत्र मसान्तको राति १२ बजे एउटा विशेष फूल फुल्छ माला आकारमा। भोलिपल्ट धुमधाम मेला लाग्छ।

त्यसैले, वैशाख १ लाई राष्ट्रिय पर्वकै रूपमा मनाउनुपर्छ। नेपाली संस्कार, संस्कृतिलाई अझ मजबुत बनाउन सघाएको छ यस दिनले।

(कुराकानीमा आधारित)/ नागरिकबाट शुक्रबारमा


  •  
  •  
  •