भट्टराई समर्थक सभासद् एमाओवादीमै

160
  •  
  •  
  •  

काठमाडौं १९ कात्तिक ।
बाबुराम भट्टराईको नयाँ शक्ति अभियानको संयोजकमा एमाओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेल तोकिएका छन्।

सैद्धान्तिक अवधारणा निर्माण गर्न भट्टराईले आफू संगठनबाहिर रहेर पौडेललाई संयोजक तोकेका छन्। एमाओवादीमा समानान्तर संगठनात्मक संरचना सञ्चालन गर्दै आएका भट्टराईले त्यही संरचनालाई नयाँ शक्ति अभियानको संगठनका रूपमा विकास गर्न खोजेका छन्।

संयोजक पौडेलका अनुसार नयाँ शक्ति अभियानलाई समर्थन गर्ने सभासद् एमाओवादीमै रहनेछन्। एमाओवादीको अनुशासन र पार्टी पद्धतिबाहिर गएर नयाँ शक्ति अभियानमा सहभागी हुँदा हुन सक्ने सम्भावित कारबाहीलाई ध्यानमा राखेर भट्टराई स्वयम्ले उनीहरूलाई पार्टीमै रहन सल्लाह दिएका हुन्।

नयाँ शक्ति अभियानमा सहभागी हुन चाहेका पोलिटब्युरो सदस्य रौतहटमा प्रत्यक्ष निर्वाचित सभासद् प्रभु साहलाई पनि फिर्ता पठाइएको संयोजक पौडेलले बताए। साहले अन्नपूर्णसँग भने, ‘म अहिले बोल्ने पक्षमा छैन। बोल्ने बेला भएपछि पत्रकार सम्मेलन गर्छु।’

मुलुकभरका सांगठनिक संरचना भंग गरी भट्टराईलाई समेत सहभागी गराएर नयाँ संरचना बनाउन आफूले राखेको प्रस्तावलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गरेपछि भट्टराई समर्थक ४५ जनाले मंगलबार पार्टीको अनुशासन नमान्ने घोषणा गरेका थिए।

एमाओवादी स्थायी समितिको बुधबार बसेको बैठकले भट्टराईका समर्थकलाई वर्ग, राष्ट्र र जनता प्रति विश्वासघात गरी पलायनवादी बाटो रोजेको आरोप लगाएको छ। बैठकले भट्टराई समर्थक रामचन्द्र झा, रामकुमार शर्मा, रामरिझन यादव, महेन्द्र पासवान र घनश्याम यादवलाई पार्टीबाट निष्कासित गरेको छ।

स्पष्टीकरण पार्टीमा नबुझाएको, पार्टी निर्देशन पालना नगरेको र पार्टी अनुशासन बारम्बार उल्लंघन गरेका कारण उनीहरूलाई कारबाही गर्ने निर्णय गरिएको प्रवक्ता दीनानाथ शर्माले बताए।बाँकी नेतालाई पाँच दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।

‘त्यो कारबाहीको अर्थ छैन। कतिजनालाई निष्कासन गर्ने? कि त सबैलाई निष्कासन गरेको भए हुन्थ्यो कि त कसैलाई पनि नगरेको भए हुन्थ्यो’, पौडेलले भने, ‘सभासद्को जागिरको सबाल छ । त्यही भएर उहाँहरूलाई अहिले अभियानमा सहभागी गराइएको छैन।’

स्रोतका अनुसार भट्टराई पक्षले दाहाल पक्षमा रहेका नेता र दाहालले भट्टराईको पक्षमा रहेका नेता तान्ने होडबाजी चलेको छ। भट्टराईको पक्षमा रहेका खगराज भट्ट दाहालसँग वार्ता गर्ने पक्षमा पुगेका छन् भने दाहालका पक्षमा रहँदै आएका झा, शर्मा, भक्तबहादुर शाह भट्टराई पक्षमा पुगेका छन्।

सशस्त्र संघर्षका बेला एउटै पार्टीमा रहेका माओवादीका नेता अहिले फरकफरक पार्टी गठन गर्न पुगेका छन्। मणि थापा नेतृत्वमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, मात्रिका यादव नेतृत्वमा नेकपा माओवादी, मोहन वैद्य नेतृत्वमा नेकपा—माओवादी र नेत्रविक्रम चन्द नेतृत्वमा नेकपा माओवादी र भट्टराईको नेतृत्वमा नयाँ शक्ति अभियान गठन भएका छन्।

ती नेताले वामपन्थी ध्रुवीकरणका लागि आफूले नयाँ पार्टी गठन गर्नुपरेको बताए पनि उनीहरू कसैले पनि वामपन्थी ध्रुवीकरणको औचित्य पुष्टि गर्न सकेका छैनन्।भट्टराईको नयाँ शक्ति अभियानलाई समर्थन गर्नेमा एक स्थायी समिति सदस्य, चारजना पोलिटब्युरो सदस्य र १६ जना केन्द्रीय सदस्य गरी २१ जना केन्द्रीय सदस्य छन्।

भट्टराईले पार्टी परित्याग गरेकै निरन्तरताका रूपमा पौडेलसहितका नेताले पेस गरेको असहमतिलाई लिइएको प्रवक्ता शर्माले बताए।बैठकले जिल्लामा तीनदेखि पाँचजनाको जिल्लास्तरीय समिति निर्माण गर्ने निर्णय गरेको छ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •