२ करोड जनता हाक्न नयाँ शक्तिः भट्टराई

182
  •  
  •  
  •  

बुटबल, १७ साउन (ओएनएस): एमाओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा अग्रगामी विचार सहित नयाँ शक्ति आवश्यक रहेको बताएका छन् । नेपालका राजनैतिक दलहरू नयाँ परिवेश अनुसार रुपान्तरण हुन नसकेकाले नेपाली राजनीतिमा नयाँ शक्ति आवश्यक भएको उनको भनाइ थियो ।

baburam at butwalसमाजवादी अध्ययन तथा सम्वाद केन्द्रले शनिबार रूपन्देहीको बुटवलमा गरेको अन्तरक्रिर्यामा नेता भट्टराइले दलहरू रुपान्तरण हुन नसके आवश्यकता अनुसार नयाँ शक्ति जन्मने बताएका हुन् । भट्टराईले कांग्रेस, एमाले वा एमाओवादी जस्ता नेतृत्वदायी दल रूपान्तरण भएर नयाँ शक्ति नबने पार्टी बाहिरबाटै नयाँ शक्ति बन्ने स्पष्ट गरे ।

नयाँ शक्तिले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाउनुपर्नेमा उल्लेख गर्दै उनले नयाँ शक्ति बन्नलाई कसैले रोक्न नसक्ने बताए । सबै दलमा गरेर करिव ५० लाख जनता मात्र आवद्ध भएको र बाँकी २ करोड बढी जनसंख्या दल बाहिर रहेकाले त्यो जनसंख्यालाई स्वीकार्य हुने गरी नयाँ शक्ति निर्माण हुने उनको भनाइ छ ।

‘राष्ट्रियता, लोकतन्त्र, आर्थिक विकासलाई केन्द्रमा राखेर बन्ने शक्तिले मात्र सही नेतृत्व दिन सक्छ, उनले भने, ‘नयाँ शक्ति देशको अपरिहार्य आवश्यकता जस्तै बन्यो ।’ कार्यक्रममा हालै बाबुराम खेमा छाडेको आरोप लागेका माओवादी सभासद् भक्ति पाण्डे समेत सहभागि भएका थिए ।


  •  
  •  
  •