१० माओवादी दलको एकता, नेकपा माओवादी केन्द्रको घोषणा

223
  •  
  •  
  •  

काठमाडौँ, ७ जेठ(ओएनएस) : एमाओवादीसहित १० माओवादी दलहरूबीचको एकता घोषणापछि ‘नेकपा माओवादी केन्द्र’ नामक पार्टी गठन भएको छ ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा कम्युनिष्टका पाका नेता कृष्णदास श्रेष्ठको अध्यक्षतामा एकता घोषणा सभा भएको हो । उक्त घोषणा सभामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० दलबीचको एकतापछि नयाँ पार्टी निर्माण भएको घोषणा गरेका थिए ।

उनले घोषणा सभामा माओवादीको पराजयको दिन सकिएको बताएका छन् । उनले माओवादीहरूबीच भएको एकता नयाँ खालको राष्ट्रिय एकता समेत भएको बताए । उनले गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरपेक्षतालगायतका परिवर्तनका एजेण्डाहरू पराजय हुने दिन सकिएको समेत उल्लेख गरेका छन् ।

उनले आफ्नै नेतृत्वमा युद्ध गरेर निर्णायक शक्ति बनेको र पछि विभाजित समेत भएकाले आफूले नै एकताको पहल लिएको बताए । उनले मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई पनि एकता अभियानमा आउन आग्रह गरेका छन् ।

उनले माओवादीलाई कमजोर पारेर राजतन्त्र फर्काउने सपना देख्नेहरू पनि पराजय भएको भन्दै अब पार्टीले सामन्ती, उच्च जातीय अहंकार र उपनिवेश कायम गर्न खोज्नेहरू विरूद्ध लड्ने बताए ।

कार्यक्रममा एकता प्रक्रियामा सक्रिय सहभागी रहेका अर्का माओवादी नेता रामबहादुर थापा बादललेपनि एकतापछि नयाँ पार्टीको निर्माण भएको बताए ।


  •  
  •  
  •