काठमाडौं २ असोज ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्रको तीन मध्येको एउटा दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नयाँ मोर्चा निर्माणको तयारीमा जुटेका छन्। चार दिन अगाडि वर्तमान मोर्चाको औचित्य सकिएको अभिव्यक्ति दिएका उनले शुक्रबार सोही अर्को मोर्चा निर्माणको लागि बैठक गरेका हुन्।
तराई मधेश जागरण अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ता, नेकपा माओवादीका मातृका यादव र महतोबीच शुक्रबार करिब चार घण्टा लामो बैठक चलेको थियो। ‘हामीले मधेसप्रति राज्यको ब्यवहारको विवेचना ग¥यौं, मधेस आन्दोलन कसरी अगाडि बढाइने भन्ने सन्दर्भमा छलफल केन्द्रित थियो,’ बैठकपछि गुप्ताले भने, ‘आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनु पर्ने कुरामा भने एउटै मत रह्यो। मधेसी मोचाभित्रै सबैलाई एक ठाउँमा समेट्नु पर्ने कुरामा पनि छलफल भयो।’
शनिबार अर्को बैठकपछि अन्तिम रणनीति तय हुने उनले बताए। बैठकपछि माअेवादी नेता मात्रिका यादवले भने सहकार्यका लागि शर्तहरुमा छलफल भएको नागरिकन्युजलाई बताए। ‘समग्र मधेश एक प्रदेश, पूर्ण रुपमा समानुपातिक समावेशी व्यवस्था, स्वराज्य आत्मनिर्णयको अधिकार र शिक्षा तथा स्वास्थ्यको अधिकारको कुरालाई मुद्दा बनाइनु पर्ने शर्तमा छलफल भएको हो,’ नेता यादवले भने, ‘अर्को बैठकपछि धेरै कुरा प्रष्टिन्छ ।’
स्रोतका अनुसार नयाँ बन्ने मोर्चामा संविधानसभा वहिस्कार गरेका एमाओवादी सभासद प्रभु साह र रामकुमार शर्मालाई समेल गर्ने विषयमा छलफल भएको छ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पहलमा संविधान सभा नै विघटन माग गर्दै आएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग कार्यगत एकता गर्न पुगेपछि महतो असन्तुष्ट रहँदै आएका छन्। बिहीबार यादव नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र वैद्य सहित चार साना जनजाति पार्टीहरुसँग कार्यगत एकता गर्ने निर्णय भएको थियो। जसअनुसार दुवै पक्षको संयुक्त विज्ञप्ति समेत सार्वजनिक भएको थियो।
नागरिकबाट