अब विपद् व्यवस्थापन मन्त्रालय !

62
  •  
  •  
  •  

काठमाडौं, असोज १२ (ओएनएस) :व्यवस्थापिका संसद्को अर्थ समितिले  विपद् व्यवस्थापनका लागि सम्पूर्ण काम समन्वयात्मक रुपमा गर्न तत्काल  विपद् व्यवस्थापन मन्त्रालय स्थापनाका लागि  सरकारलाई निर्देशन दिएको छ ।

समितिको आईतबार बसेको बैठकले बाढी पहिरो लगायत दैवीप्रकोपबाट प्रभावित पीडित व्यक्तिहरुको उद्धार, राहत र पुनस्र्थापनाका काम गर्न दैवीप्रकोेपबाट हुने क्षति न्यूनीकरणको लागि गर्नुपर्ने पूर्व तयारीका काम गर्न, क्षतिग्रस्त भौतिक संरचना र विकास आयोजनाहरुको पुनर्संरचनाका काम तथा विपद् व्यवस्थापनका  सम्पूर्ण काम समन्वयात्मक रुपमा गर्न छुट्टै मन्त्रालय बनाउन निर्देशन दिएको हो ।

बाढी पहिरोले पुराएको क्षति, राहत वितरण र पुनस्र्थापना लगायतका विषयमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतसहितका सरकारी अधिकारीसँग जानकारी लिएपछि समितिले नयाँ मन्त्रालयका लागि निर्देशन दिएको हो ।

समितिले देशका विभिन्न जिल्लाहरुमा बाढी, पहिरो र डुबानको कारणले पूर्ण रुपमा विस्थापित भएका व्यक्तिहरुलाई तत्काल आवश्यक राहतउपलब्ध गराउँदै उनीहरुको लागि स्थायी रुपको पुनर्वासको तत्काल व्यवस्था मिलाउन पनि दिर्नेशन दिएको छ ।

समितिले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई राहत वितरण, पुनस्र्थापना, पुनर्वास र पुनर्निर्माणको लागि आवश्यक रकम उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको समिति सभापति प्रकाश ज्वालाले जानकारी  दिए ।

समितिले बाढी, पहिरो र डुबानको कारणबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणको मापदण्ड र कार्य योजना तत्काल बनाउनका लागि राष्ट्रिय योजना आयोगलाई निर्देश समेत दिएको छ ।

समितिले बाढी पहिरो लगायत दैवीप्रकोपबाट प्रभावित भएर पूर्ण रुपमा विस्थापित परिवारलाई तत्काल उपलब्ध गराइने राहत रकम ५ हजार रुपैयाँ  र मृतकका परिवारका लागि उपलब्ध गराइने  सहयोग रकम १ लाख रुपैयाँ अत्यन्त न्यून रहेको भन्दै विशेष बजेटको व्यवस्था गरी सो रकम वृद्धि गर्न भनेको छ ।


  •  
  •  
  •