नयाँ मन्त्रीका कार्यकक्ष कामचलाउ

242
  •  
  •  
  •  

काठमाडौं १५ पुस ।
जनसंख्या तथा वातावरण मन्त्रालयले आफूले प्रयोग गर्दै आएको सिंगो तल्ला सहजै उपलव्ध गराएपछि विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाको झण्डा फहराउँदै मन्त्रालय पुग्ने इच्छा पूरा भयो ।

वातावरणले एक तल्ला उपलव्ध गराएपछि सचिव गजेन्द्रकुमार ठाकुर सोमवार दिउँसो १ बजेतिर नयाँ मन्त्रलायमा पदबहाली गरे । लगत्तै उनले मन्त्री थापाको स्वागत र पदबहालीको चाँजोपाँजो मिलाए । गत विहीबार मन्त्रीको सपथ लिए पनि मन्त्री थापाले चार दिन भाडाको कुलेश्वरस्थित् कोठामै बिताएका थिए । सचिव ठाकुर पनि भौतिक पूर्वाधारबाट विज्ञानमा सरुवा भएका हुन् ।

आफ्नो कक्षको व्यवस्थापनछि मन्त्री थापा मंगलवार पनि केही बेर मन्त्रालय आए र ५ मिनेटमै बाहिरिए । बधाई दिन कक्ष पुगेका एक सुभेच्छुकले मन्त्रालय परिसरमै खादा लगाईदिए र बधाई दिए । विज्ञानमन्त्री र सचिवको कोठा सामान्य छन्, मन्त्री र सचिवको नेमप्लेट पनि कागजी प्रिन्टमा छ ।

वातावरण मन्त्रालयका उपसचिव हरी घिमिरेका अनुसार मन्त्री थापाका लागि व्यवस्थापन गरिएको कोठा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका सल्लाहकार विजन पन्तले प्रयोग गरेका थिए । सचिव रहेको कोठामा भने वातावरणकै प्राविधिक उपसचिव बस्थे ।

दुबै कोठामा अन्य मन्त्रालयहरुमा जस्तो एसी, यट्याच बाथरुम, गोप्य कोठा, वैठक कक्ष, सचिवालयलगायत सुविधा छैन । ‘हेर्नुस् त सचिवको कोठामा झण्डा पनि छैन’ सचिव ठाकुर भन्दै थिए, ‘कुर्ची टेबुल चाँही यताउतीबाट खोजखाज गरियो बल्लतल्ल ।’ दलीय भागबण्डा पुर्‍याउन विज्ञान, प्रविधि तथा वातावरणलाई टुक्र्याएर दुई वटा बनाईएको हो । जनसंख्या तथा वातावरण मन्त्रालय रहेको भवनमा अहिले तीन वटा मन्त्रालय छन् ।

सहकारी तथा गरीबी निवारण मन्त्रालय पनि एउटै भवनमा छ । विगतमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले प्रयोग गर्दै आएकै भवनमा सहकारी मन्त्रालयका सचिव र सहसचिवलगायत बस्दै आएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयको उदयसंगै सहकारी सचिव शंकरप्रसाद अधिकारी र सोही मन्त्रालयका सहसचिवलगायतले प्रयोग गर्दै आएका कोठाहरु खाली गर्न दबाब परेको छ ।

‘हाम्रा केही कोठाहरु सहकारी मन्त्रालयले प्रयोग गर्दै आएको रहेछ’, विज्ञान सचिव ठाकुरले थपे, ‘ती कोठाहरु बेलैमा खाली गरिए हामीलाई सहज हुने थियो ।’ विज्ञान तथा प्रविधि मन्त्रालय र जनसंख्या तथा वातावरण मन्त्रालयवीच कार्यविभाजनसमेत हुँदैछ । विज्ञानमा सचिवकोबाहेक अरु कर्मचारीको टुंगो लागेको छैन । तर, विज्ञान महाशाखा पहिलेदेखि नै भएकाले ती सबै कर्मचारी स्वत: नयाँ मन्त्रालयमा समाहित हुनेछन् । ‘विस्तारै कर्मचारी व्यवस्थापन हुनेछ’ ठाकुरले भने, ‘दुई मन्त्रालयवीच कर्मचारी बाँडफाँड हुनेछ ।’

नयाँ खडा भएको पशु विकास मन्त्रालयको हालत पनि विज्ञानको जस्तै छ । सपथको चार दिनपछि मन्त्री शान्ता मानवीले सोमवार बहाली गरेकी छन् । कृषी विकास मन्त्रालयको चौथो तल्लामा मन्त्री मानवी र सचिव डा.कृष्णचन्द्र पौडेलको कार्यकक्ष बनाईएको छ । यो कार्यकक्ष पनि सुविधायुक्त छैन । जेनतेन कामचलाउ मात्र छ । मन्त्रीकक्षबाहिरको प्यासेजमा कार्पेट भने बिच्छ्याईएको छ ।

पशु विकासमा आवश्यक कर्मचारीको टुंगो विस्तारै लाग्ने मन्त्री मानवीले कान्तिपुरलाई बताईन् । ‘नयाँ मन्त्रालय भएकाले अलि अलि सकस छ’ आफ्नै कार्यकक्षमा मन्त्री मानवीले भनिन्, ‘व्यवस्थापनमा पनि समस्या भईरहेको छ ।’ सचिव डा.पौडेल वातावरण मन्त्रालयबाट सरुवा गरिएका हुन् ।

पशु विकास मन्त्रालयले पशुचिकित्सा, औषधी उत्पादन तथा नियमन, दुग्ध र दुग्धपदार्थबाट बनेका बस्तुको अनुसन्धान, विकास र बजार प्रवद्र्धन्, मत्स्य पालन र जलचरसम्वन्धि अध्ययन, अनुसन्धान, माहुरी पालन तथा रेशम खेती, खाद्य, पशु तथा प्लान्ट क्वारेनटाईन, मासुजन्य पदार्थ तथा छाला तथा अन्य पदार्थको विकास, पशुपन्धिट विमा, पशुपन्छि आहार, पशुपन्छि फार्म तथा विकास केन्द्र तथा पशु सेवासम्वन्धि प्रयोगशालासहित १६ निकाय हेर्ने गरी कार्यविभाजन भएको छ ।

सपथको चार दिनपछि खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चौथो तल्लामा खडा गरिएको कार्यकक्षमा पद बहाली गरेका छन् । भौतिक मन्त्रालयको योजना तथा महाशाखा प्रमुख सहसचिव शम्भु केसी बस्दै आएको कोठालाई मन्त्रीको कार्यकक्ष बनाईएको छ । मन्त्रीको कक्ष सामान्य छ । ‘हतारमा बहाल भएकाले धेरै सुविधा छैन’, मन्त्री सिंहले भने, ‘विस्तारै अर्को कोठा तयार होला ।’

नयाँ मन्त्रालय भएकाले कुनै चहल पहल थिएन । ‘सायद कसैलाई थाहा नभर होला’ एक कर्मचारी भन्दै थिए । मन्त्री सिंह मंगलवार विहान एकछिन मन्त्रालय पुगेर फर्किहाले । ‘छोराको स्कुलमा वार्षिकोत्सव रहेछ’ सिंहले सुनाए, ‘पछि फेरी गएँ, बधाई दिन आएकाहरुसंग एकछिन बसेर फर्किएँ ।’
यस मन्त्रालयले खानेपानी तथा ढल निकास विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र बोर्ड, खानेपानी तथा सरसफाई आयोजना निर्देशनालय, नेपाल खानेपानी संस्थान, मेलम्ची खानेपानी आयोजना तथा अन्य खानेपानी आयोजना तथा खानेपानी महसुल निर्धारण आयोग हेर्नेगरी कार्यविभाजन भएको मन्त्री सिंहले बताए ।

वाणिज्य मन्त्रालयसमेत पाएका श्रम तथा रोजगारमन्त्री दीपक बोहराले मंगलवार वाणिज्य मन्त्रालयमा पदबहाली गरेका छन् । सहसचिव जीवराज कोइरालाका अनुसार विगतमा वाणिज्य तथा आपूर्तीमन्त्री बस्ने कोठामा उनको कार्यकक्ष बनाईएको छ । आपूर्तीमन्त्री गणेशमान पुन भने यथास्थानमै छन् । वाणिज्य सचिव ङइन्द्र उपाध्यायको कक्ष यथास्थानमै छ भने आपूर्ति सचिव विष्णु लम्सालका लागि नयाँ कक्ष बनाइएको छ । ‘कुन कर्मचारी कता रहने भन्ने चाँही एक/दुई दिनमा टुंगो लाग्छ’ सहसचिव कोइरालाले भने ।

कान्तिपुरबाट


  •  
  •  
  •