मन्त्रालय खोज्दै नयाँ मन्त्रीहरु

181
  •  
  •  
  •  

जनमुक्ति पार्टीबाट विज्ञान तथा प्रविधि मन्त्री बनेका शिवलाल थापाले आफू बस्ने कार्यकक्षको व्यवस्थापनमा सहयोग गरिदिन आइतबार जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानलाई आग्रह गरे । थापाले पाएको मन्त्रालय पासवानले नेतृत्व गरेकै (विज्ञान, प्रविधि तथा वातावरण) बाट टुक्रिएर बनेकाले वातावरण मन्त्री पासवानलाई त्यस्तो आग्रह गरेका हुन

पासवानले स्वास्थ्य मन्त्रालय पछाडि रहेको जनसंख्या महाशाखाको भवन सुविधायुक्त भएकाले त्यसैमा बस्न मन्त्री थापालाई सुझाए । तर, थापाले अस्वीकार गरे । आफू सिंहदरबारभित्रै बस्न चाहेको भन्दै थापाले त्यतै मिलाउन आग्रह गरे । उनको इच्छाअनुसार पासवानले आफू रहेकै भवनको दायाँतिर विज्ञान तथा प्रविधि मन्त्रीको कार्यकक्ष तयारी गर्न कर्मचारीलाई निर्देशन दिए ।

‘मन्त्रीज्यूको आग्रहअनुसार पहिला विज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्र ढुंगेल बसेको कक्षमा नयाँ मन्त्री राख्ने तयारी भइरहेको छ,’जनसंख्या तथा वातावरण मन्त्रालयका उपसचिब हरि घिमिरेले भने,‘विज्ञान सचिबज्यूको कार्यकक्ष हाम्रै अर्को भवनमा व्यवस्थापनको तयारी गर्दैछौं ।’ मन्त्री थापाले जहाँबाट टुक्रिएको हो, त्यही ठाउँमै मिलेर बस्ने सहमतिअनुसार कार्यकक्षको तयारी भइरहेको बताए ।

एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि दलहरुलाई भाग पुर्‍याउन वातावरणसँगै रहेको विज्ञान, प्रविधि झिकेर नयाँ मन्त्रालय बनाइएको थियो । पछि उक्त मन्त्रालय फेरि वातावरणमै मिसाइएको थियो । दलीय भागवन्डाका लागि धेरैपटक फुटाइने मन्त्रालयको सूचीमा पनि वातावरण नै परेको छ ।

मन्त्री भएपछि पनि थापाको दिन कुलेश्वरस्थित डेरामै बित्ने गरेको छ । बधाई दिन कार्यकर्ताको डेरामै ओइरो छ । ‘मुख्य सचिवज्यूलाई भेटेर छिट्टै व्यवस्थापन गरिदिन आग्रह छु’, थापाले भने,‘दुई/चार दिनभित्रै बहाली गर्छु होला ।’ दुई कोठामा बस्दै आएका मन्त्री थापाले मन्त्री बनेपछि चपलीहाइटमा भाडाको घर खोज्नसमेत कार्यकर्ता खटाएका छन् ।

विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका सचिव गजेन्द्रकुमार ठाकुर अहिले पनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयकै फिल्ड निरीक्षणका क्रममा काठमाडौं बाहिरै छन् ।

‘बिज्ञान मन्त्रालय कहाँ छ मलाई थाहा छैन’, व्यंग्यात्मक शैलीमा सचिब ठाकुरले भने,‘काठमाडौं आएर खोज्नुपर्ला ।’ प्रधानमन्त्री कार्यालयबाट जनसंख्या तथा वातावरण मन्त्रालयमा सरुवा भएका विजयकुमार मल्लिक पनि सम्भवतः सोमबार पद सम्हाल्दैछन् ।

कृषि विकास मन्त्रालयबाट फुटाएर बनाइएको पशु विकास मन्त्री शान्ता मानवीको हालत पनि उस्तै छ । कृषिबाटै फुटाएर बनाइएको भएकाले त्यहीभित्र ठाउँ खोजी भइरहेको छ । ‘कृषि मन्त्रालय ठूलो भएकाले त्यही भवनमा मन्त्रालय हुन्छ होला’, मन्त्री मानवीले भनिन् । केही बर्षअघि थपिएको चौथो तल्लामा नयाँ मन्त्रालयलाई दिन कृषि मन्त्रालय तयार भएको छ ।

उक्त मन्त्रालयको सचिबमा शुक्रबार डा. कृष्णचन्द्र पौडेललाई सरुवा गरिएको छ । यसअघि वातावरण मन्त्रालयमा रहेका पौडेलले सोमबारदेखि नयाँ मन्त्रालयमा पद सम्हाल्दै छन् ।

पशु सेवा विभाग र विभाग मातहत रहेका जिल्ला पशु सेवा कार्यालय उक्त मन्त्रालयमातहत रहनेछन् । समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका प्रेमबहादुर सिहंले पनि खानेपानी तथा सरसफाइ मन्त्रीको शपथ खाएको चार दिन भइसक्यो ।

तर, कार्यकक्षको ठेगान नभएकैले उनले पदवहाली गर्न पाएका छैनन । बानेश्वरस्थित पार्टी कार्यालयलाई नै निवास बनाउँदै आएका मन्त्री सिंह नयाँ क्वार्टरको खोजी पनि गरिरहेका छन् । यो सहरी विकासबाट फुटाएर बनाइएको नयाँ मन्त्रालय हो ।

आइतबार बल्ल उक्त मन्त्रालय भौतिक, पूर्वाधार तथा यातायातको तेस्रो र चौथो तल्लामा रहने टुंगो लागेको छ । ‘संम्भवतःसोमबार मन्त्रालय सम्हाल्नु जान्छु,’ सिंहले भने,‘नयाँ मन्त्रालय भएकाले तयारी गर्न अलि ढिलाइ भयो ।’
कान्तिपुर दैनिकबाट


  •  
  •  
  •