नयाँ नगरपालिका सञ्चालन आजदेखि

182
  •  
  •  
  •  

काठमाडौं २२ मंसिर । सरकारले घोषणा गरेका ६१ नयाँ नगरपालिका आज सोमबारदेखि सञ्चालनमा आउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिका समेटिएका सम्बन्धित जिल्ला विकास समितिलाई पत्र लेख्दै नगरपालिकामा गाभिएका गाविस सचिवमध्ये सिनियरलाई निमित्त कार्यकारी अधिकृतको जिम्मा दिएर नगरपालिकाको हैसियतमा काम सुरु गर्न निर्देशन दिएको छ।

मन्त्रालयका सहसचिव गोपी खनालले सम्बन्धित जिविसलाई पत्र लेख्दै केन्द्र तोकिएको ठाउँमा तत्काल बोर्ड राखेर नगरपालिकाको हैसियतमा काम सुरु गर्न निर्देशन दिएको बताए। सहसचिव खनालका अनुसार मन्त्रालयले नवघोषित नगरपालिकामा कार्यकारी प्रमुख नपठाउन्जेलसम्म नगरपालिकामा गाभिएकामध्ये सबैभन्दा वरिष्ठ गाविस सचिवलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएर काम सञ्चालन गर्न समेत निर्देशन दिएको छ।

उनका अनुसार मन्त्रालयले कार्यकारी प्रमुख खटाउनुअघि निजामती किताबखानामा नयाँ पद दर्ता गरेर सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी उपलब्ध हुनुपर्ने भएकाले त्यतिञ्जेलका लागि त्यहाँको काम प्रभावित नहोस् भनेर सिनियर गाविस सचिवलाई निमित्त दिन निर्देशन दिइएको हो। उनले नयाँ घोषणा भएका सबै नगरपालिकाको हैसियतमा काम सुरु गर्न प्रारम्भिक तयारी पूरा भएकाले सोमबारदेखि सबै नगरपालिकामा काम सुरु हुन्छ।


  •  
  •  
  •