इटहरी, १४ फागुन(ओएनएस) : संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसको नेतृत्वमा नयाँ राष्ट्रिय सरकार गठन हुने एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले बताएका छन् ।
इटहरीमा शुक्रबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता शर्माले मधेसवादी दललाई समेत समेटेर कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भनाई राखेका हुन् । मधेसवादीहरूको संविधान संशोधन र सिमांकनका माग पुरा भएपछि उपेन्द्र यादव लगायतका मधेसी नेताहरु समेत सम्मिलित राष्ट्रिय सरकार निर्माणका लागि आफूहरुले पहल गरिरहेको शर्माले बताए ।
उनले मधेसमा उनीहरूका माग सम्बोधन भएका भन्दा संविधानका विषयमा नकारात्मक कुरा बढी फैलाइएको र दलहरू समेत नकारात्मक कुराहरूलाई प्रष्ट पार्न चुकेका कारण समस्या उत्पन्न भएको बताएका छन् ।
उनले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई नियमित भ्रमणको रूपमा लिएको बताउँदै प्रधानमन्त्रीलाई विगतमा भएका सहमतिको कार्यान्वयन र लामो सयमदेखि चल्दै आएको प्रशासनिक र कुटनीतिक सम्बन्धलाई राजनीतिक बनाउन पहल गर्न सुझाव दिएको बताए ।
एमाओवादी सरकारबाट मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिनै पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
उनले बाबुरामले माक्सवादनै छाडेर गएको भन्दै बाबुरामसँग एकताको सम्भावना नरहेको बताएका छन् । उनले माक्सवादलाई स्वीकार गर्ने फुटेर गएका अन्य साना दलहरूसँग एकता गर्ने तयारी गरिरहेको बताएका छन् ।