सुशीलद्वारा राष्ट्रिय सरकार प्रस्ताव

211
  •  
  •  
  •  

काठमाडौं १६ मंसिर ।
प्रधानमन्त्री सुशील कोइराला माघ ८ गते संविधान जारी गर्ने सर्तमा एमाओवादीसहितका दलहरूलाई सामेल गराएर वर्तमान सरकारलाई राष्ट्रिय स्वरूप दिन तयार भएका छन्। सत्ता गठबन्धनको दोस्रो मुख्य दल एमाले पनि यसमा सहमत देखिएको छ।

संवाद समितिले कात्तिक ३० भित्र सहमति गर्न नसकेपछि मंसिर पहिलो साता प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरूबीच प्रधानमन्त्री कोइरालाले माघ ८ गतेभित्र संविधान घोषणा हुन्छ भने वर्तमान सरकारलाई राष्ट्रिय सरकारको स्वरूप दिन तयार रहेको प्रस्ताव राखेको कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

‘माघ ८ गते संविधान जारी गर्नुपर्छ, त्यसका लागि वर्तमान सरकारलाई राष्ट्रिय सरकारको स्वरूप दिन म तयार छु’, कोइरालालाई उद्धृत गर्दै खड्काले भने। उनका अनुसार यसबारे प्रमुख तीन दलसाथै मधेसवादी र अन्य केही दलसँग पनि कुराकानी भइरहेको छ।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले माघ ८ गतेभित्र संविधान निर्माण गर्न आमसहमति आवश्यक भएकाले आफ्नो पार्टी राष्ट्रिय सरकार गठनका पक्षमा रहेको बताए। उनले भने, ‘राष्ट्रिय सरकार गठनको उद्देश्य संविधान निर्माण हो।’ एमालेले केही दिनयता संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग राष्ट्रिय सरकार गठनको प्रस्ताव गर्दै सहमति जुटाउने प्रयास गरिरहेको खनालले बताए।

एमाओवादी सचिव वर्षमान पुनले शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउने र संविधान निर्माण गर्ने सर्तमा सहमतिसहितको राष्ट्रिय सरकार आफ्नो पार्टीको बटमलाइन रहेको जानकारी दिए। उनले भने, ‘केपी ओली, शेरबहादुर देउवालगायतले वर्तमान सरकार ढाल्न खोजिरहेका छन्, एमाओवादी सत्ता ढालेर गठन हुने सरकारमा नभएर राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन सक्छ।’

राष्ट्रिय सरकारको नेतृत्व सुशील, ओली, देउवा जसले गरे पनि आफ्नो पार्टी सत्तामा जाने जानकारी उनले दिए। राष्ट्रिय सहमतिको सरकारबिना शान्तिप्रक्रिया र संविधान निर्माण असम्भव हुने एमाओवादीको निष्कर्ष छ।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानसहितको संघीयता र संघियतासहितको संविधान निर्माणको सर्तमा राष्ट्रिय सहमतिको सरकारका लागि मोर्चाले पुनर्विचार गर्ने बताए। ‘हाम्रो पार्टीका लागि अहिलेको प्रमुख एजेन्डा संविधान हो, सत्ता होइन’, यादवले भने।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •