संविधानको नाम यसरी ‘मुडुलो’ बनाईयो

67
  •  
  •  
  •  

काठमाडौं, १७ भदौ (ओएनएस) : संविधानको नामले मुलुकको व्यवस्था र त्यहाँको संरचनाको झल्को दिन्छ । संविधानको नाम सुन्दा नै त्यो मूलुकमा कस्तो शासन व्यवस्था छ भनेर सबै पढिरहन पर्दैन । तर नयाँ बन्ने संविधानको नाम जे जुराईएको छ त्यसले शासन व्यवस्था र संरचनाबारे कतै संकेत दिदैन ।

संविधानको नाममा विवाद

सुरुमा माओवादीले ‘जन’ शब्द जोडेर संविधानको नाम राख्नुपर्छ भन्नेमा जोड गरेको थियो भने अरु दल संविधानमा ‘जन’ शब्द सुन्न समेत चाहेका थिएनन् । अघिल्लो संविधानमा संविधानको नाम के राख्ने भन्ने विषयमा निकैै विवाद भएको थियो ।

‘जन’ शब्द संविधानको नाममा जोड्नु र नजोड्नुमा शासन व्यवस्थाको झल्को आउने र नआउने विषयकै लडाई थियो । दोस्रो संविधानसभाको संबैधानिक राजनीति संवाद तथा सहमति समितिले संविधानको नाम ‘नेपालको संविधान’ नाम राख्ने सहमति ग¥यो ।

‘मुडुलो’ जस्तो भयो नाम

संविधानको नाम बाहिर आएपछि कतिपयले नाम नै ‘मुडुलो’ भएको भन्दै टिप्पणी गर्न गरेका छन् । संघीयता र गणतन्त्र अहिलेका संविधानका मुख्य विशषता हुन् तर यसको सन्देश आउने गरी संविधानको नाममा जोडिएन ।

नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष सुरेन्द्र महतो भन्छन्,‘ यो एउटा युग परिवर्तनपछि बन्न लागेको संविधान हो । कम्तिमा गणतन्त्र वा संघीयताको विषय जोडिनु पथ्र्यो मुडुलो जस्तो भयो ।’

महतोले नामबाट धेरै सन्देश जाने भन्दै युगान्तकारी सन्देश दिन संविधानको नाम असफल भएको बताए । ‘भित्र कन्टेन्ट भए भैहाल्यो नी भन्ने हिसाबले जानुभयो होला सायद सम्झौता गर्नुपर्ने बाध्यताले पनि हो नियतै खराब चाँही नभनौं, उनले भने ।

राष्ट्रिय जनमोर्चा र राप्रपा नेपाललाई फाईदा !

संविधानसभा भित्र संघीयता नमान्ने राष्ट्रिय जनमोर्चा छ भने गणतन्त्र नमान्ने राप्रपा नेपाल छ । चर्को संघीयता र गणतन्त्रको वालत गर्ने चलक हुँदा राष्ट्रिय जनमोर्चा र राप्रपा नेपाललाई सम्बोधन गरेको छ ।

नेपाल परिवार दलका संसदीय दलका नेता एकनाथ ढकाल भन्छन्,‘ संघीयता राखे चित्र बहादुर केसी (राष्ट्रिय जनमोर्चा) ले विरोध गर्ने गणतन्त्र राख्दा कमल थापाले विरोध गर्ने,मिलाउदाँ मिलाउँदै यस्तो भयो ।’

तराई मधेश सद्भावना पार्टीका सभासद महेन्द्र यादवले नामले केही फरक नपर्ने भन्दै व्यवहार ठिक हुनुपर्ने बताए । उनी भन्छन्,‘नामले के हुन्छ ? संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई अपरिवर्तनीयमा राखेकै छौं नामले केही फरक पार्दैन ।’


  •  
  •  
  •