काठमाडौ, २४ भदौ(ओएनएस) : बर्षौ लामो प्रतिक्षापछि संविधान आउने पक्का भएको छ । कुनै अनिष्ट नभए वा निर्णय प्रक्रियामा फेरबदल नभए भदौ २९ गते मुलुकले नयाँ संविधान पाउने भएको छ ।
दलहरूले छोटो बाटोबाट भदौ २९ मा संविधान जारी गर्ने तयारी गरेका छन् । मस्यौदा पारित भएपछि प्रत्येक धारा संविधानसभामा पारित गर्न पेश हुनेछन् । शुक्रबार दिउँसो २ बजेबाट मतदान गर्ने सुरु हुनेछ र आइतबार सक्ने तयारी छ । सबै धारा ध्वनिमतले पारित हुनेछन् । संविधानसभामा उपस्थित सदस्यको दुई तिहाई मतले पारित गरेपछि सबै धारा सदर गरिनेछ ।
यदि ध्वनिमतमा कुल सभासद्को दश प्रतिशतले दुई तिहाई नपुगेको भन्दै प्रश्न उठाए मत विभाजन प्रक्रिया प्रारम्भ हुनेछ । ६ सय १ सभासद्को १० प्रतिशत झण्डै ६० सभासद् हुन आउँछ । संघीय समाजवादी फोरमका १५, फोरम लोकतान्त्रिकका १४, तमलोपाका ११, सद्भावनाका ६ सभासद्ले संविधानसभा छाडिसकेका छन् ।
मधेस समाजवादीका तीन, तराई–मधेस सद्भावनाका तीन, थरुहट तराई पार्टीका दुई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, फोरम गणतान्त्रिक, संघीय सद्भावनाका एक–एक गरी ५७ र स्वतन्त्र सभासद् झन्द्रेश्वर झा पनि संविधानसभाको जारी प्रक्रियाबाट बाहिरिएका छन् ।
राप्रपा नेपालका २५ सभासद्ले पनि संविधानसभाको जारी सबै प्रक्रियाबाट बाहिरिने निर्णय गरेका छन् । असन्तुष्ट ११ दलका ८३ सभासद्ले संविधानसभा बहिष्कार गर्दा पनि संविधान पारित हुनसक्छ, राजनीतिक वैधतामाथि मात्र प्रश्न उठ्ने हो । संविधानसभा सचिवालयले धाराहरु एक एक गरेर पारित गर्ने तयारी गरेको छ । यसरी पारित भएको संविधानको प्रमाणिकरण संविधानसभाका अध्यक्षले गर्नेछन् भने राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । भदौ २९ गते दिउँसो विषेश कार्यक्रम गरेर नयाँ संविधान जारी गरिनेछ ।